प्रहरीले बरामद गरेको महमा भेटियो क्यान्सर गराउने तत्त्व

काठमाडौं, ८ माघ । प्रारम्भिक अनुसन्धान पछि थप कारवाहीको लागि उनलाई महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ। श्रेष्ठले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्दै आएका थिए। उनको गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गरेको थियो। उनले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको बुझिएको प्रहरीको भनाई छ। प्रहरी पुग्दा मह उत्पादनस्थल यति फोहोर थियो कि त्यो खाद्यवस्तु उत्पादन गर्ने स्थान नभएर फोहोर सङ्कलन गरेर राखिएको स्थान जस्तो थियो । अनि मह बनाउने स्थानमा माहुरीको महभन्दा बढी चिनी र ग्लुकोज पाइएको थियो ।

बजारमा गुणस्तरहीन र नक्कली महको बिगबिगी भएको भन्ने सूचना प्रहरीकोमा बेलाबेलामा आउने गर्थ्यो । तर पनि कुन मह सक्कली हो र कुन मह नक्कली हो भन्ने स्पष्ट आधारसहितको उजुरी वा गुनासो प्रहरीकोमा थिएन । तर केही समयअगाडि मात्रै प्रहरीले स्पर्श हनी नाम गरेको मह गुणस्तरहीन रहेको र उक्त महमा महमा हुनुपर्ने गुण नभएको सूचना पायो । त्यसलगत्तै प्रहरीले बजारबाट स्पर्श हनि किनेर ल्यायो । अनि महमा रहेको लेबल निकाल्यो र सङ्केत नम्बर राखेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठायो । प्रहरीले पठाएको नमुनाको परीक्षण गर्दा स्पर्श हनी खानका लागि योग्य नै नरहेको रिपोर्ट प्रयोगशालाले दियो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार स्पर्श हनीमा चिनी र ग्लुकोजको मात्रा मापदण्ड अनुसारको नभएको र उक्त मह खानका लागि योग्य नरहेको भन्दै प्रयोगशालाले रिपोर्ट दिएपछि जफत गरिएको हो ।

कुँवरका अनुसार महमा हाइड्रोअक्सिमिथाइल (एचएमएफ)को मात्रा मापदण्डभन्दा झण्डै दुई गुणा बढी रहेको र फ्रुक्टोज तथा ग्लुकोजको अनुपात नमिलेको भन्दै उक्त मह खानका लागि योग्य नरहेको रिपोर्ट दिएको थियो । प्रयोगशालाको रिपोर्टमा एचएमएफको मात्रा ७८ मिलिग्राम प्रतिकेजी पाइएको थियो । जबकि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार महमा अधिकतम ४० मिलिग्राम प्रतिकेजी मात्रै हाइड्रोअक्सिमिथाइल प्रयोग गर्न पाइन्छ । ४० मिलिग्रामभन्दा कम एचएमएफ भएको मह मात्रै राम्रो र खानका लागि योग्य भएको विभागको मापदण्डमा उल्लेख छ । त्यसैगरी फ्रुक्टोज र ग्लुकोजको अनुपात शून्य दशमलव ९५ भन्दा कम नभएको हुनुपर्नेमा उक्त हनीमा जम्मा शून्य दशमलव ८८ मात्रै पाइएको थियो । महानगरीय अपराध महाशाखाले परीक्षण गरी बरामद गरेको स्पर्श हनीमा मानव शरीरलाई क्यान्सर गराउन सक्ने तत्त्वको मात्रा बढी पाइएको छ । स्पर्श हनीमा पाइएको अत्यधिक एचएमएफको मात्राले मानव शरीरलाई गम्भीर असर पुराउन सक्ने र क्यान्सरसम्म गराउन सक्ने विभिन्न अध्ययनले देखाएको छ । जब ग्लुकोज र चिनी पकाइन्छ, त्यहाँ तापको कारण केही मात्रामा हाइड्रोअक्सिमिथाइलको मात्रा बढ्न जान्छ ।

हाइड्रोअक्सिमिथाइलको मात्रा नबढोस् र मापदण्ड अनुसारकै होस् भन्नका लागि त्यहाँ अधिकमात्रामा माहुरीले तयार पारेको महकै प्रयोग गरिन्छ । केही मात्रामा ग्लुकोजको प्रयोग गर्न सकिने भएपनि त्यहाँ सस्तो पर्ने चिनी बढी मिसाउने र तताउने गर्दा त्यहाँ एचएमएफको मात्रा बढ्न जान्छ, जुन टक्सिन अर्थात् विष समान बन्न सक्छ ।विभिन्न अध्ययनहरूले देखाए अनुसार पुरानो मह र नक्कली महहरूमा एचएमएफको मात्रा बढी पाइने गरिएको छ । नेपाल सरकारले तोकेको ४० मिलिग्राम प्रतिकिलो भन्दा बढी भएको एचएमएफको मात्राले मानव शरीरलाई क्यान्सर गराउन पनि सक्छ । यसले पेट तथा आन्द्रामा असर गर्ने र क्यान्सर समेत गराउन सक्ने देखिएको छ ।

नरेश श्रेष्ठले ज्याठामा उत्पादन गर्ने गरेको मह काठमाडौँ, भक्तपुर र पोखराका ठूला होटल तथा रेष्टुरेष्टहरुमा पुराउने गरिएको पाइएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार नरेशले उत्पादन गर्ने गरेको स्पर्श हनी पसलहरूमा भन्दा पनि होटल तथा रेष्टुरेण्टहरुमा विक्री वितरण गर्ने गरेको पाइएको छ । यद्यपि केही मात्रामा स्पर्श हनी बजारमा पनि पाइएको प्रहरीले जनाएको छ । नरेशले आफ्नो उद्योगबाट उक्त मह उत्पादन गरी तयारी अवस्थामा प्याकेजिङ गरी लेबल लगाइएको मह प्रतिकिलो २५० रुपैयाँमा विक्री वितरण गर्ने गरेको बयान दिएका छन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका नरेशले विगत ७ वर्षदेखि यसैगरी नक्कली र कम गुणस्तरको मह उत्पादन गर्दै विक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले बताएको छ । नरेशले श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ नाममा कम्पनी दर्ता गरी सञ्चालन गरेको प्रहरीले जनाएको छ । नतिजा प्याकेजिङ नामक कम्पनी दर्ता गरे पनि स्पर्श हनी दर्ता नगराएको पाइएको प्रहरीले जनाएको छ । नरेशले मह बनाउनका लागि आवश्यक कच्चापदार्थहरु दाङ, नवलपरासी तथा चितवनबाट खरिद गर्ने गरेको दाबी गरेको तर त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका श्रेष्ठलाई कालोबजारी ऐन अन्तर्गतको मुद्दा चलाउन अहिले अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि अन्य मुद्दा पनि आकर्षित हुने भएमा अन्य मुद्दामा पनि मुद्दा चलाउने र नभए कालोबजारीमा मुद्दा चलाउने एसएसपी कुँवरले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति