फरार अभियुक्त पक्राउ

काठमाडौँ, ७ माघ । अदालतबाट रु १२ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु. १२ लाख जरिवाना गरेपछि फरार रहेका दोलखा भीमेश्वर नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको वि. सं २०७६ पुस ७ गतेको फैसलापछि दुई दिन कैद र बिगोबमोजिम रु. १२ लाख जरिवानापछि फरार रहेका रिजाललाई बिहीबार सुन्ताखानबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका उनले आफ्नो नविल र एनआइसी बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका रिजाललाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति