को हुन मधेश प्रदेश बनाउन ‘फ्लोर क्रस’ गर्ने १७ सांसद ?

जनकपुर, ३ माघ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा प्रमुख दलका सांसदहरूले नै फ्लोर क्रस गरेका छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र प्रदेश २ को नाम ‘मधेश’ कायम गर्न सहमत थिए । यद्यपि संविधानतः उनीहरूसँग प्रस्ताव पारित हुन आवश्यक दुई तिहाइ संख्या थिएन ।

१ सय ४ सदस्यीय प्रदेशसभामा दुई तिहाइका लागि ७० मत आवश्यक पर्नेमा ‘मधेश’ का पक्षमा रहेका तीन दलसँग ६३ जनामात्रै प्रदेशसभा सदस्य रहेका थिए । ‘मधेश’ नामको पक्षमा ८० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । ‘मधेश प्रदेश’ को पक्षमा नरहेका दलका १७ जनाले ‘फ्लोर क्रस’ गरेका हुन् ।

सो प्रदेशमा जसपाका ३९, लोसपाका १६ र माओवादीका ८ गरी ६३ जना मधेश प्रदेशका पक्षमा खुलेका थिए । १९ सदस्य रहेको नेपाली कांग्रेस सो प्रदेशको नाम ‘मिथिला भोजपुरा’ राख्ने पक्षमा थियो । ८ जना प्रदेशसभा सदस्य रहेको नेकपा एमाले र १३ जना सदस्य रहेको नेकपा एकीकृत समाजवादी सो प्रदेशको नाम ‘जानकी’ राख्नुपर्ने पक्षमा थिए ।

गोप्य मतदान भएका कारण प्रदेशसभाको नाम ‘मधेश प्रदेश’ राख्ने प्रस्तावका पक्षमा दुई तिहाइ जुटेको हो । गोप्य मतदान भएका कारण कुन–कुन दलका क–कसले फ्लोर क्रस गरे ? भन्ने खुलेको छैन । प्रदेशसभामा १ सीट रहेको नेपाल संघीय समाजवादी ‘मध्य मधेश’ नाम राख्नुपर्ने पक्षमा थियो । यसअघि २०७७ साल चैत ५ गते प्रदेशसभामा नामाकरणसम्बन्धी प्रस्तावउपर मतदान हुँदा कुनै पनि प्रस्तावले दुई तिहाइ जुटाउन सकेको थिएन । प्रदेशसभाले आजै प्रदेशको स्थायी राजधानी जनकपुर राख्ने प्रस्ताव पनि पारित गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति