कोरोनामुक्त भएपछि प्रचण्डको पहिलो राजनीतिक भेटघाट प्रधानमन्त्री देउवासंग

काठमाडौँ, ३ माघ । । कोरोना संक्रमणबाट मुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाट थालेका छन्। कोरोना संक्रमण पुष्टि भएयता केही दिनदेखि सबै खालका भेटघाट बन्द गरेका प्रचण्डले निको हुनेबित्तिकै राजनीतिक भेटवार्ता सुरु गरेका हुन्।

यस क्रममा प्रचण्डले अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका हुन।

आइतबार कोरोना संक्रमणमुक्त भएपछि उनी बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। प्रचण्डले महत्त्वपूर्ण राजनीतिक भेटवार्ता सुरु गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

यस्तै देउवा र प्रचण्डबीच सरकार सञ्चालनका लागि गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति पनि भएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार मंगलबार बिहान ९ बजेका लागि संयन्त्रको बैठक बोलाउने तय भएको छ।

‘निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मिति सिफारिस गरिसकेको छ। सरकारले यसबारे निर्णय गर्नुपर्ने छ,’ देउवा निकट एक नेताले भने, ‘अब संयन्त्रको बैठकमा यस विषयमा छलफल भएपछि निर्णय होला।’

सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएपछि सरकारले आवश्यक निर्णय गर्ने तयारी गरेको छ। प्रचण्ड हिजो मात्र कोरोना नेगेटिभ भएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति