काठमाडौँ, २ माघ । प्रदेश सभा ऐन नीति निर्माण बन्ने स्थल हो। विशेष संवेदनशील स्थल भएकाले यहाँ नीति निर्माता सांसदहरुले न्यूनतम आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।
प्रदेश नम्बर २ प्रदेश सभाले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ जारी गरेको छ। यो नियमावलीको दफा १९ मा प्रदेशसभा सदस्यहरुले बैठकमा ११ वटा नियमहरूको पालना गर्नुपर्ने उल्लेख छ। जसमा दफा १९ को (झ) मा बैठक कक्षमा मोबाइल फोन र अन्य हलुका विद्युतीय उपकरण प्रयोग गर्न नहुने उल्लेख छ ।
तर, आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार यादवले पोडियममा बोलिरहेको बेला रोकिएर मोबाइल फोन नै उठाएर कुरा गरेका छन्। नाम र स्थायी राजधानीको विषयमा आफ्ना धारणा राख्ने क्रममा उनको फोन आएको थियो। उनले बीचमै फोन उठाए। फोन उठाएर उनले ‘ए भाइ, ’ भन्दै फेरि फोन काटेका थिए। उनले फोन काट्नेबित्तिकै सबै सांसदहरू खित्का छाड्दै हाँस्न थाले। त्यसपछि सांसद यादवले फोन आउँदा उठाउनैपर्यो भन्दै सांसदहरूलाई नहाँस्न आग्रह गरे।
प्रतिक्रिया