हुम्लीले पाए तीन महिनापछि बल्ल चार किलो चामल

सिमकोट, ३० पुस । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । आजदेखि सुरु गरिएको खाद्यान्न वितरणमा प्रत्येक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाएका छन् ।

समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो । कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नु परेको थियो । चामल लिन लिमिटेडको शाखामा पुग्दा यहाँका नागरिकले आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ । चामल पाउनका लागि लाइनमा बस्नुपर्ने र अर्को झन्झट नागरिकताको फोटोकपी बुझाउनुपर्ने रहेकाे छ । चार केजी चामलका लागि गाउँबाट साढे दुई घण्टाको पैदल हिडेर आउनुपर्ने बाध्यता रहेकाे स्थानीय बताउँन्छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चामल पाउने नागरिकहरु नदोहोरिऊन् र उनीहरुले चामल पाए/नपाएको विवरण राख्नका लागि नागरिकता अनिवार्य गरेको बताए । सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य गोदाम नियम अनुसार हप्ताको एक दिन शुक्रबार खोल्नुपर्नेमा त्यसको विपरीत गोदाम खोलर आफ्नो अनुकूल चामल वितरण भएकाे बताए । चामल खरिद गर्न छोडेर उनीहरु जिल्ला प्रशासन कार्यालयमा आएर चामल पूरा वितरण गर्न माग राख्दै आन्दोलन गरेका थिए ।

सर्वसाधारण आक्रोशित भएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सिमकोट गाउँपालिका अध्यक्ष पद्मबहादुर लामा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारी, प्रहरी नायब उपरीक्षक हेरम्भ शर्मालगायतको टोली बसेर तीन महिनापछि वितरण भए पनि यहाँका नागरिकले पाउनुपर्ने सबै खाद्यान्न वितरण गर्ने सहमति भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति