श्रीलंकाका सांसदले चीनका राष्ट्रपति सीलाई लेखे पत्र

काठमाडौं, २६ पुस । चीनले आफ्नो मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै श्रीलंकाका सांसद एवं पूर्वशिक्षा मन्त्रीले चिनियाँ राष्ट्रपतिलाई सनसनीपूर्ण पत्र लेखेका छन् ।श्रीलंकाको सत्तारुढ दलका सांसद एवं पूर्वशिक्षा मन्त्री विजेयादसा राजापाक्षेले गत हप्ता चिनियाँ राष्ट्रपति सी जिनफिङलाई लेखेको पत्रमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको ऋण एवं परियोजनाबाट आफ्नो मुलुक ऋण पासोमा परेको बताएका छन् ।

विजेयादसाले हालको सत्तारुढ दल र महिन्दा राजापाक्षेको नेतृत्वमा रहेका यसअघिका सरकारले श्रीलंकालाई बीआरआईअन्तर्गतको ऋण तथा परियोजनाको पासोमा पारेको पनि आरोप लगाएका छन् । त्यस्तै, कोलम्बो र बेइजिङबीच भएका सहमतिले भ्रष्टाचारको मार्ग कोरेको पनि पत्रमा उल्लेख छ ।

यसबाहेक, चिनियाँ मित्रता साँचो र इमान्दारीपूर्ण बन्न छोडेको भन्दै बेइजिङले श्रीलंकालाई अन्य राष्ट्रसँगको शक्ति संघर्षमा शिकार बनाएर हिन्द महासागरीय क्षेत्रलाई अशान्त पारेको पनि पत्रमा उल्लेख छ ।‘तपाईंको मुलुकले सुरुमा हाम्रो मुलुकलाई आर्थिक हिसाबले टाट पल्टाउन थाल्यो’ पत्रमा भनिएको छ,’सन् २००५ को नोभेम्बरमा महिन्दा राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएपछि हम्बनटोटा बन्दरगाह रोकियो र पछि नयाँ समझदारीसहित यसलाई पुनस् सुरु गरियो ।’

पत्रमा अन्य ऋणदाताबाट ०.०१ देखि १ प्रतिशत दरमा ऋण उपलब्ध हुने भएपछि महिन्दा राजापाक्षेले ६ प्रतिशत ब्याजदर चिनियाँ ऋण लिएको आरोप पनि लगाइएको छ ।

यसबाहेक, विजेयादसाले सीलाई लेखेको पत्रमा चीनमाथि कोभिड खोपका लागि थप रकम लिएको र गुणस्तरहीन मल आपूर्ति गरेको समेत आरोप लगाएका छन् । जनवरीमा लेखिएको उक्त पत्र यसै हप्ता चिनियाँ विदेश मन्त्रीको श्रीलंका भ्रमणपूर्व नै राष्ट्रपति सीलाई पठाइएको इकोनोमिक टाइम्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति