नोबेलमा व्यवसायीको प्रदर्शन : सञ्चालक शर्माले विद्यार्थीको आन्दोलन विथोल्न मान्छेहरु खटाएको आरोप

काठमाडौं, २५ पुस । नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।एमबिबिएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु प्रशासनमा तालाबन्दी गरेर आन्दोलनमा छन् ।

विद्यार्थीको आन्दोलनविरुद्ध आइतबार बिहान व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।पुस दोस्रो सातायता आन्दोलनमा रहेका विद्यार्थीलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरूले पनि साथ दिएका छन् । एमबिबिएसका विद्यार्थी र विद्यार्थी संगठनहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । आइतबार बिहान पनि विद्यार्थीहरूले प्रदर्शन गर्ने तयारी गरिरहेका थिए । त्यही बेला व्यवसायीहरूले ‘रोजिरोटी मार्न पाइँदैन, हस्पिटल भित्र आन्दोलन गर्न पाइँदैन’ भन्दै प्रदर्शन गरे ।

मेडिकल कलेजमा तालाबन्दी हुँदा व्यवसायीलाई समस्या भएको बताउँदै उनीहरुले आन्दोलन राज्यका निकाय केन्द्रित बनाउन आग्रह गरेका छन् । ‘नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलन ठिक ठाउँमा गएर गर्नुहोस्, सिडिओ कार्यालयमा गर्नुहोस् मन्त्रालयमा गर्नुहोस्, जहाँ गरेपनि भयो,’ प्रदर्शनमा उत्रिएका एक व्यवसायीले भने, ‘कोलाहल माहोल बनाएर त्रासको वातावरण सृजना गर्दा असर गरिरहेको छ ।’ विद्यार्थी संगठनहरुले भने नोबेल प्रशासन विरुद्धको आन्दोलन नोबेलमै हुने बताएका छन् ।

आफ्नो आन्दोलन नोबेल प्रशासनसँग भएको बताउँदै विद्यार्थी संगठनहरुले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले विद्यार्थीको आन्दोलन विथोल्न मान्छेहरु खटाएको आरोप लगाए । अनेरास्ववियूका नेता नविन पहाडीले विद्यार्थीको जायज माग सम्बोधनका लागि अस्पताल केन्द्रित आन्दोलन गरिरहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति