ताप्लेजुङ, २४ पुस ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले आफ्ना कार्यकर्तालाई निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् । पार्टीको एघारौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमपछि महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
अधिवेशन उद्घाटनपछि सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङ पुगेका नेता शर्माले वैशाखमा हुने स्थानीय तह, अर्को आर्थिक वर्षमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा लाग्न अपिल गरेका थिए ।‘हिजो एमाले र माओवादी एक भए, अबको ५० वर्ष हामी शासन गर्छौं, गर्छौं, गर्छौं भने, हामीले ठीकै छनि त भन्यौं । तर, जनता कोरोना कहरले आक्रान्त भइरहँदा बालुवाटारमा कुर्सीको तानातान गरिरहे,’ महामन्त्री शर्माले भने ।
भात पकाउँदा पानी र आगो दुवै चाहिने उल्लेख गर्दै शर्माले आगो–पानी दुवै भए पनि भान्से बसेका ओलीले चलाउन नसक्दा नेकपा विभाजन भएको बताए । यस्तै शर्माले कोरोना विरुद्धको खोपको जस कांग्रेस सभापति देउवालाई नै दिनुपर्ने संकेत गरेका थिए ।
कोरोना महामारी उत्कर्षमा पुगेका बेला पूर्वप्रधानमन्त्री केपी ओलीले खोपको कुरा नगरेर अवैज्ञानिक तर्क गरेको स्मरण गर्दै शर्माले खोपको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई दिनुपर्ने बताए । शर्माले भने,– ‘ओलीले प्रष्ट भाषामा बुझिने गरी हर्रो र अम्बाको पात पकाएर खाँदा कोरोना चट् हुन्छ भन्नुभयो, हाम्रा सभापतिको बोली बुझिँदैन भन्छन् तर उहाँले खोप, खोप, खोप भनेको त तपाइँहरूले बुझ्नुभयो होला नि ।’ नेताको बोली नभएर कर्म र भाषण नभएर शासन बुझिने हुनुपर्नेमा शर्माको भनाइ थियो ।
प्रतिक्रिया