काठमाडौं उपत्यकामा भीडभाड हुने क्षेत्रमा रोक लगाउने तयारी

काठमाडौँ, २४ पुस । कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरु बैठक बस्न लागेका हुन् ।काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नुअघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ । भोलि नै तीनै सीडीओले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्दैछन् ।आइतबार नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले भोलि नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ ।

त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् । सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले बताए ।एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताए । ‘पहिले हामी जिल्लाभित्रको परिस्थितीबारे समीक्षा गर्छौं र तीनै सीडीओबीच भीडभाड हुने क्षेत्रलाई कसरी व्यवस्थित गर्नेबारे टुंगो लाग्छ’ उनले भने ।अहिलेसम्म नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति