कोरोना संक्रमणको बढ्दो ग्राफ : तेस्रो लहरको संकेत

काठमाडौं, २२ पुस । केहि दिन यता विश्वभर तथा नेपालमा समेत कोरोना संक्रमणको ग्राफ बढ्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार एन्टिजेन र पीसीआर गरी १२ हजार ९९ नमुना परीक्षण गर्दा ५४० जनामा संक्रमण पुष्टि भयो । यो संख्या कुल परीक्षणमध्ये ४ दशमलव ४६ प्रतिशत देखिन्छ । एक महिना अगाडि (२२ मंसिर)मा ९ हजार ४५१ नमुना परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको थियो ।

जुन कुल परीक्षण मध्ये २ दशमलव २३ प्रतिशत थियो । क्रमशः संक्रमण बढ्नुको मुख्य कारण अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन हुनसक्ने विज्ञहरुको अनुमान छ । औपचारिक रुपमा नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । पहिलो पटक २० मंसिरमा दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट अमिक्रोन संक्रमण भएको थियो । उनीहरु ३ मंसिरमा हवाइ मार्ग हुँदै नेपाल आएका थिए, तर ओमिक्रोन संक्रमण पुष्टि हुँदा १९ मंसिर भइसकेको थियो ।

७ पुसमा तेस्रो व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भयो । तर ‘एस जिन नेगेटिभ’को संख्या बढ्नुले ओमिक्रोन संक्रमित बढ्दै गएको अनुमान गर्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल बताउँछन् । कोरोना पुष्टि भएका नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा स्क्रिनिङ गर्ने गरिएको छ । त्यसक्रममा एस–जिन नेगेटिभ आएका नमुनाको मात्र जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । ओमिक्रोन भेरियन्ट पुष्टि भएका तीन वटै नमुनाको पनि एस–जिन नेगेटिभ आएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले ‘एस जिन नेगेटिभ’ आएका २४ वटा नमुनाको जिन सिक्वेन्सिङ भइरहेको छ, जसको नतिजा दुई दिनभित्रमा आउने जनाएको छ ।

अहिले देशभरका ८९ प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गर्न सकिन्छ । तर जिन सिक्वेन्सिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र धुलिखेल अस्पतालको प्रयोगशालामा मात्र हुन्छ । रिएजेन्ट नभएका कारण धुलिखेलमा एस जिन स्क्रीनिङ हुँदैन । त्यसैले केही शंस्कापद नमुनाको जिन सिक्वेन्सिङ गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कोभिड–१९ पोजेटिभ आएका सबै नमुनाको स्क्रीनिङ गर्ने र एस जिन नेगेटिभ आएकाहरुको जिन सिक्वेन्सिङ गर्न सम्भव छैन ।

त्यसैले एस जिन नेगेटिभ आएका नमुनालाई नै ओमिक्रोन भेरियन्ट मान्ने विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत निकायहरुबीच छलफल भइसकेको छ । संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारी पनि एस जिन नेगेटिभ आएका नमुनाहरुमा ओमिक्रोन पुष्टि हुनसक्ने बताउँछन् । उनका अनुसार नेपालमा देखिएको अल्फा भेरियन्टमा केही नमुनामा एस जिन नेगेटिभ भेटिएको थियो । डेल्टामा एस जिन नेगेटिभ नभेटिएको भन्दै उनी भन्छन्, ‘अहिले ‘एस जिन नेगेटिभ’ आउनु भनेको ओमिक्रोन भेरियन्ट हो भन्ने पुष्टि हुनु हो ।’

इपिडिमियोलोजिष्ट डा। विराज कर्माचार्य पनि एस जिन नेगेटिभ नमुना बढ्दा ओमिक्रोनको केस बढिरहेको बुझ्नुपर्ने बताउँछन् । भन्छन्, ‘यो हाम्रा लागि तेस्रो लहरको संकेत हो ।’ भारतमा ओमिक्रोनको फैलावट र नाकाको प्रवेश विन्दुमा संक्रमणदर बढ्दै गएकाले नेपालमा दुई–तीनहप्ता भित्रै कोरोनाले संख्या उच्च आंकलन गर्न सकिने डा. कर्माचार्य बताउँछन् । ‘ओमिक्रोन डेल्टाभन्दा कम घातक छ, तर बढी संक्रामक भएकाले संक्रमितको संख्या उच्च हुने खतरा छ,’ डा. कर्माचार्य भन्छन्, ‘संक्रमण रोक्न अहिले नै पूर्वतयारी नगर्ने हो भन्ने ठूलो क्षति ब्यहोर्नुपर्ने हुन्छ ।’ उनका अनुसार अन्य मुलुकमा खोप पहुँच नभएकाहरुमा ओमिक्रोनको संक्रमण फैलिएको छ । ‘तत्काल सबै नागरिकसम्म खोपको पहुँच पुर्‍याउनुपर्छ, नत्र संक्रमण बढ्ने जोखिम ठूलो रहन्छ,’ डा.कर्माचार्य भन्छन्, ‘बालबालिकालाई खोप दिन नसकेको खण्डमा स्कुलबाट ‘आउट ब्रेक’ हुनसक्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति