नारायणहिटीमा होटल बनाउनेबारे २०७६ माघ २२ गते के भनेका थिए भट्टराईले ? (भिडियो)

काठमाडौं, २१ पुस। नारायणहिटी दरबार सङ्ग्रहालय भित्र रेष्टुरेन्ट बनाउन पूर्व पर्यटन मन्त्रीले स्वीकृति दिएको र बहालवाला मन्त्रीले रोकेको विषय यतिबेला चर्चाको शिखरमा छ । बतास समूहलाई सङ्ग्रहालयमा होटल खोल्न अनुमति दिएको भन्दै पूर्व मन्त्री योगेश भट्टराईको चर्को आलोचना र विरोध भइरहेको छ भने त्यसलाई रोक्न निर्देशन दिएको भन्दै पर्यटन मन्त्री प्रेम आलेको प्रशंसा चुलिएको छ ।

यसबारेमा मंगलबार सामाजिक सञ्जालमार्फत योगेश भट्टराईले आफूले दरबार सङ्ग्रहालयभित्र होटल बनाउने विषयमा आफ्नो संलग्नता नरहेको प्रस्टोक्ति दिएका छन् भने दरबार सङ्ग्रहालयका प्रमुख भेषनारायण दाहालले भने पूर्व मन्त्रीको मौखिक निर्देशन अनुसार नै सङ्ग्रहालयभित्र रेष्टुरेन्ट बनाउने प्रक्रिया अघि बढेको दाबी गरेका छन् । के मन्त्रीको जिम्मेवारीमा रहँदा भट्टराई दरबार सङ्ग्रहालयभित्र होटल बनाउन दिने पक्षमा थिए ? २०७६ माघ २२ गते प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बाल्दै तत्कालीन मन्त्री भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कुनै होटल बनाउने योजना नरहेको सुनाएका थिए ।

उनले नारायणहिटी दरबार सङ्ग्रहालयको मापदण्डमा रहने बताएका थिए । सोही बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीभित्र होटल बनाउने कुरा आइरहेको भन्दै त्यसको चर्को विरोध गरेका थिए ।

उनले नेपालको सिङ्गो इतिहासलाई चिनाउने म्युजियम बनाउनका लागि माग गरेका थिए । नारायणहिटीमा होटल बनाउने कुरा सुनिरहेको भन्दै त्यसप्रति विरोध जनाएका थिए । उनले भनेका थिए–‘म सुन्दैछु कि नारायणहिटीमा सपिङ कम्प्लेक्स बनाउने रे र होटल बनाउने रे । रोयल स्टान्डर्ड होटल बनाउने रे । बर्बाद पार्न खोजे । अर्को जग्गा दिए हुँदैन । त्यो भन्दा दुर्घटना केही हुँदैन ।’ नारायणहिटी सङ्ग्रहालय प्रमुख दाहालले भने योगेश भट्टराईकै चाहानामा उनको मौखिक आदेशमा काम थालेको दाबी गरेका छन् ।

भिडियो नागरिक दैनिकबाट
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति