बालुवाटार जग्गा प्रकरणका नाइके ढकाल राजस्व छलीमा पनि संलग्न, एक अर्ब २० करोड मागदाबी

काठमाडौं, २० पुस ।  बालुवाटारस्थित ललिता निवास किनबेच प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल राजस्व छली प्रकरणमा पनि फसेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले ढकालको कम्पनी आनसान इन्टरनेशनल र सो को लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीविरुद्ध उच्च अदालत पाटनमा आज (मंगलबार) मुद्दा दायर गरेको हो । ढकाल सञ्चालक रहेको फर्म आनसानले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूटा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार शून्य भएको देखाइ कर नतिरी राजस्व चुहावट गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फर्म, ढकाल र उनको एकाघरका पारिवारिक सदस्यविरुद्ध विभागले एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बिगो, बिगोको शतप्रतिशत जरिवाना तथा तीन वर्ष कैद सजाय माग गरेको छ । यस्तै, लेखा परीक्षण फर्म राजेश्वर एण्ड कम्पनीलाई मतियार ठहर गरी आधा सजाय मागदाबी गरिएको छ ।

को हुन् ढकाल ?

स्याङ्जामा पुर्ख्यौली घर भएका ढकालले वित्तीयरनीतिगत अपराधका क्षेत्रमा बदनामी कमाइसकेका छन् । बालुवाटारस्थित सरकारी स्वामित्वमा रहेको ललितानिवासको जग्गा किनबेच प्रकरणका आरोपी ढकाल हाल डिल्लीबजार कारागारमा छन् ।
नेकपा (एमाले) ले नवलपरासीबाट ढकाललाई महाधिवेशन प्रतिनिधि नै बनाएको छ । कावासोती नगरपालिका–६, नयाँ गाउँमा अर्को घर बनाएर ढकाल तत्कालीन एमाले अध्यक्ष एवम् हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट हुन् । नेपाल प्रधानमन्त्री भएकै बेला ढकालले बालुवाटारको सरकारी जग्गा नै हडपेर बेच्ने प्रपञ्च थालेका थिए । अरूलाई बेचेर पनि ढकालले ललितानिवासको १४ रोपनी जग्गा आफू अर्का भूमाफिया राम सुवेदीको नाममा राखेका थिए ।

ढकाल र सुवेदीले आफ्नो नाममा ल्याएको १४ रोपनीबाहेकको जग्गा विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए । यसैगरी, तत्कालीन नेकपा महासचिव एवम् पूर्व अर्थमन्त्री (हाल एमाले उपाध्यक्ष) विष्णु पौडेलका पुत्र नवीन पौडेलका नाममा पनि बालुवाटारको आठ आना जग्गा पास भएको भेटिएको थियो । ललितानिवासको सरकारी जग्गा हडप्न नक्कली मोही खडा गर्ने र किर्ते कागजात तयार पार्ने कसुरमा संलग्न कर्मचारी, विचौलिया, भूमाफिया र तत्कालीन भोगाधिकारीसहित २१० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले पुस १६ गते पक्राउ पूर्जी जारी गरिसकेको छ ।

काठमाडौंमा ढकालको बसोबास नागार्जुन नगरपालिका–१, नर्सरीचोकमा छ । उनले कर छली गरेको आनसान इन्टरनेशनल प्रालिको कार्यालय पनि नर्सरी चोकमै राखेका छन् । बालुवाटार जग्गा प्रकरणमा संलग्न भएको प्रमाण जुट्दै गएपछि तत्कालीन प्रतिबन्धित नेकपाले नर्सरी चोकस्थित ढकालको घरमा २०७६ माघ १ गते बम विस्फोट गराएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति