मोदीले माइतीघर मण्डलामा आमरण अनसन बस्ने


काठमाडौं, २० पुस । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । उनले सरकारले तत्काल उखु किसानहरुको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका हुन । सांसद मोदीले उखु किसानहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले भुक्तानी नदिएको भन्दै अब आफैँ आमरण अनसनमा बसेर भुक्तानी दिलाई छाडने बताए ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले उखु किसानहरुको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरु आफैँले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने बताए। सांसद मोदीले उखु किसानहरुको भुक्तानी दिलाउने गरी आवश्यक मोडल बनाउन सरकारलाई कुनै समस्या नरहेको दावी समेत गरे। उनले भने ‘अब मजदुरहरु, किसानहरूबारे राज्यले सुन्दैन भने संसद त चलेन। संसद चलेको छैन। अवरोध छ।

अब किसानहरुले आन्दोलन गर्नुपर्दैन । हामी आन्दोलन गर्छौँ, माइतीघर मण्डलामा अनसन बस्छौँ। यो चाहिँ घोषणा हो। म त बस्छु बस्छु। तपाईँहरुले यो कुरा सल्ट्याउन भएन भने हामी आमरण अनसन बसेर तपाईँहरूलाई घुँडा टेकाउँछौं।’ बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उखु किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई सचेत गराए।उनले कुनै पनि किसानले फेरी आन्दोलन गर्नु नगर्ने गरी सरकारले उनीहरुको समस्या समाधान गर्न ढिलाई गर्न नहुने स्पष्ट पारेका छन्।

माओवादी केन्द्रकी अर्की सांसद धर्मशीला चापागाईँले समितिले पटक पटक उखु किसानको भुक्तानी गर्न दिएको निर्देशन सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन्।

उनले सरकारले किन उखु किसानहरुलाई भुक्तानी दिन नसकेको ?भनि पटकपटक प्रश्न समेत गरेकी छन्।

यता, सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले आफ्नो मन्त्रालयले उखु किसानहरुको भुक्तानीका लागि प्रयास गरिरहेको बताए।

करिब १ अर्व ७० करोड उखु किसानहरुको भुक्तानी हुनुपर्नेमा आफ्नो मन्त्रालयले करिब ८ करोडमा झारेको पनि उनले समितिलाई जानकारी गराए।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उद्योगहरुको दायित्वमा रहेको उखु किसानलाई दिने भुक्तानी सरकारले दिन नमिल्ने बताए। उनले ती समस्या समाधानका लागि सरकार लागि परेको पनि बताए।

अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले उखु किसानहरुको समस्या समाधान लागि आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताए। उनले कृषि क्षेत्रको विकासमा लगानी बढाउन अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताए।

सचिव पुष्करले उखु किसानहरुको भुक्तानीको समस्या समाधानका लागि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफल भईरहेको पनि बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति