पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गरिने

बागलुङ, २० पुस । प्रेस काउन्सिलले विगत तीन आर्थिक वर्षदेखि रोकिएको पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक गरिने भएको छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज काउन्सिलद्वारा आयोजित पत्रकार आचारसहिंता जागरण कार्यक्रममा पत्रपत्रिकाको वर्गीकरण नतिजा छिट्टै सार्वजनिक हुने जानकारी दिएका हुन् । “भरसक यही पुस महिनाभित्रैमा नभए पनि आउँदो १५/२० दिनमा वर्गीकरण नतिजा सार्वजनिक हुन्छ,” उनले भने, “विविध कारणले रोकिएको वर्गीकरण प्रक्रियालाई काउन्सिलको अहिलेको नेतृत्वले टुङ्गो लगाउँदैछ ।” उनले आफूहरु काउन्सिलमा आएको सात महिना मात्रै भएको र पत्रपत्रिकाको वर्गीकरण प्रक्रिया पहिलेदेखि नै अवरुद्ध रहेको स्मरण गराए । अध्यक्ष बस्नेतले वर्गीकरण काउन्सिलले मात्रै गर्ने नभएर त्यसमा राज्यका अन्य निकाय पनि सम्बद्ध रहेको स्पष्ट पारे । बेलैमा वर्गीकरण नजिता नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको छ । त्यसको सोझो मार जिल्लास्तरमा सञ्चालित स्वरोजगारमूलक पत्रपत्रिकामा परेको छ । सोही क्रममा अध्यक्ष बस्नेतले आचारसहिंता पत्रकारको मूलमन्त्र भएको उल्लेख गरे । “आचारसहिंतामा टेकेर हामीले पत्रकारिता गर्नुपर्छ, पत्रकारले यसलाई सधैँ मनमा लिएर हिँड्नुपर्छ, पढिरहनुपर्छ,” उनले भने । पत्रकारितामा नवप्रवेशीहरुले त झन् आचारसहिंताबारे बढी ध्यान दिनुपर्ने उनको सुझाव छ ।

काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारका नयाँ नयाँ माध्यम विकास भएसँगै आचारसहिंता पालना थप चुनौतीपूर्ण बन्दै गएको धारणा राखे ।पत्रकारितामा स्वच्छता र विश्वसनीयता कायम गर्न पत्रकारले आचारसहिंता पालना गर्नु अनिवार्य सर्त रहेको उनको भनाइ छ । कार्यक्रममा पत्रकार पुण्य पौडेलले पत्रकार आचारसहिंताका विषयमा सहजीकरण गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको संयोजनमा भएको कार्यक्रममा ३० भन्दाबढी पत्रकार/सञ्चारकर्मीले भाग लिएको महासङ्घका जिल्ला उपाध्यक्ष नवीन शिशिर विकले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति