त्रिवि विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा

काठमाडौँ, २० पुस । मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलनको चक्रमा परेकाे छ ।

शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालय नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावले अस्तव्यस्त बनेकाे छ । आवश्यकताभन्दा बढी जनशक्ति भर्ती गर्ने, कहिले तिनैलाई स्थायी गराएकाे भन्ने प्रक्रियाको विरोधमा विद्यार्थी सङ्गठनबाट हुने विरोधले विश्वविद्यालयकाे दैनिक कार्यमा प्रभाव परेकाे छ । विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्न सुरु भएको प्रक्रिया रोक्न विश्वविद्यालय तयार भएसँगै विभिन्न विद्यार्थी सङ्गठनले कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला आजदेखि खुलेको हाे ।

अब आंशिक–करार शिक्षकले फेरि आन्दोलन गर्नसक्ने स्थिति देखिएको छ । स्थायी गराउन मागसहित आंशिक–करार शिक्षकले लामो समयदेखि गरेको आन्दोलनलाई अन्त्य गराउन विगतमाा नेपाल सरकार र त्रिवि नेतृत्वबीच भएको सहमति कार्यान्वयनका क्रममा त्रिविको गत मङ्सिर १४ गते भएको सभाले विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्न निर्णय गरेको थियो । त्रिवि सभाले १० वर्षदेखि करारमा रहेका अध्यापकलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गर्न लागेको थियो । साे निर्णयकाे विराेधपछि त्रिविले उक्त प्रक्रिया हाललाई मात्र स्थगित गरिएको जनाएको छ । त्रिवि र आंशिक प्राध्यापक सङ्घर्ष समितिबीच २०७४ सालमा तत्कालीन सरकारसँग भएको सहमतिमा एक हजार ४२० र त्यसपछि अध्यापन गराउन थालेका ५८० जना स्वतः करार हुनुपर्ने, क्याम्पसको आन्तरिक स्रोतबाट करार दिने नियमित करार नमानिने भएकाले त्रिविको नियमानुसारको अवधिभर करार गर्न पाउनुपर्ने सहमति भएको थियो ।

पदपूर्ति प्रक्रिया रोक्न नेपाल विद्यार्थी सङ्घसहित विद्यार्थी सङ्गठनसँग यही पुस १९ गते र अनेरास्ववियुसँग आज भएको सहमतिपछि तालाबन्दी खुलाइएको छ । यो तालाबन्दी दीर्घकालीन समाधान हो या होइन भन्ने विशेष आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपूर्ति माग गर्ने पक्षका आगामी गतिविधिमा भर पर्ने सङ्गठनकाे भनाई रहेकाे छ । उक्त प्रक्रिया पुनः सुरु भएमा विद्यार्थी आन्दोलन पनि दोहोरिने बताएका छन् । ऐन, कानुन र नीतिसँग मेल खाने, सहमति गर्ने र नियमबमोजिम हुने काम समयमै हुने भएमा यस्ता असन्तुष्टि नबल्झिने उनीहरूकाे तर्क रहेकाे छ । अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले त्रिविसँगको सहमतिका आधारमा तालबन्दी तोडीएको जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति