वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच ‘डेन्जरस गुड्स’ कार्गो ओसारपोसार सम्झौता

काठमाडौँ, १९ पुस । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपोसार सम्झौता कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ कार्गो ओसारपोसार गर्ने सम्झौता भएको हाे । मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल वायुसेवा निगमले विद्युत् प्राधिकरणका कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशतसम्म छुट दिने भएको छ । यसैगरी विद्युतीय प्राधिकरणका उपकरण तथा कार्गो ढुवानीमा तौलका आधारमा कम्तीमा पनि पाँचदेखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रममा उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताएका छन् । उनले भने, “निगम डुब्ने अवस्थामा छ, अब विद्युत् प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो बोक्न पाए ऋण तिर्नमा निकै सहज हुनेछ ।”

प्राधिकरणका कर्मचारी तथा परिवारका सदस्यले टिकटमा छुट पाउन निगमको मुख्यालयबाटै मात्रै टिकट खरिद गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा मन्त्रालयमा सचिव महेश्वर न्यौपानेले वायुसेवा निगम र विद्युत् प्राधिकरणबीचको कोर्गो ओसारपोसार सम्झौताले वायुसेवा निगमलाई निकै राहत पुग्ने अपेक्षा लिइएको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति