गाजा दहलाई पर्यटकीय क्षेत्रकाे रूपमा विकासका लागि बजेट अभाव

काठमाडौँ, १८ पुस । बागलुङको जैमिनी नगरपालिका–३ स्थित सुन्दर गाजा दहलाई पर्यटकीय क्षेत्र बनाउने पुरानो अभियान अझै पूरा हुन सकेको छैन । दुई हजार ४०० मिटर उचाइको गाजाको धुरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले तत्कालीन जिल्ला विकास समितिले थालेको अभियानलाई मूर्तरुप दिन यहाँका स्थानीयवासीले माग गरेका छन् ।

सो दहको संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सके नगरपालिकालाई आर्थिक रुपमा सबल हुन सहयोग पुग्ने स्थानीयवासी नरबहादुर थापाको भनाइ छ । “हामीले यो दहलाई पटक–पटक पर्यटन क्षेत्र बनाउन भनेका छौं, तर कसैले चासो राखेन”, उनले भने, “तहको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहको पनि चासो भएन ।” गाजाको पोखरी संरक्षण, यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माण तथा स्तरीय सडक बनाउन सकेमा यहाँ वर्सेनि हजारौं पर्यटक भ्यित्राउन सकिने उनको भनाइ छ । बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट गाँजा दह पुगिन्छ । यो पर्यटकीय र धार्मिक गन्तव्यसमेत हो । यो दहले गलकोट नगरपालिका–१, काठेखोला गाउँपालिका–७ र बरेङ गाउँपालिका–२ को सिमाना समेत छुट्याउँछ । यो दहमा पुग्दा अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खला पनि देखिन्छ । वर्षात्मा पनि धमिलो देखिँदैन । हिउँदमा पनि सफा र उत्तिकै पानी रहन्छ । त्यसैले पोखरीमै हिमाल र गाउँबस्तीको छायाँ तैरिन्छ । गाजा पुगेपछि बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका सुन्दर दृश्य प्रष्ट रुपमा देखिन्छ ।

गाँजा दहमा बालचर्तुदर्शीमा सतबिज झर्नेको भिड लाग्ने गर्दछ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यो दहमा नुहाउने भक्तजनको पनि त्यतिकै भिड लाग्ने गर्दछ । धार्मिक र पर्यटकीय स्थान भएकाले यसलाई पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयवासीको माग छ । गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटकीय क्षेत्रका रुपमा सूचीकृत गरिसकेको छ । तर, पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयवासी यानुकला थापाले बताइन् । “पर्यटकीय क्षेत्र त भनेका छन्, तर विकासका लागि एक रुपैयाँ पनि बजेट परेको छैन”, उनले भनिन्, “कम्तीमा दहसम्म आउने सडक मात्रै स्तरीय भएमा हामीले यसको विकास सहयोग गर्ने थियौं ।” यो दहसम्म पुग्ने २४ किमी सडकमध्ये झण्डै १० किमी चिप्लो र जोखिमयुक्त छ । अन्य सडक खण्ड पनि कच्ची हो । उक्त खण्डमा भने केही सुधार भएकाले जीपको यात्रा गर्न सकिन्छ । सिगानाको बौडेचउरदेखि गाजा पुग्ने झण्डै १० किमी खण्डमा फोरहिल गाडी मात्रै लैजान सकिने स्थानीयवासी तुलबहादुर पुनले बताए ।

गाजा दहमा सामुदायिक होमस्टे पनि खोलिएको छ । १० घरले होमस्टे सञ्चालन गरेकाले यहाँ आउने पर्यटकलाई राख्न सकिने स्थानीयवासीले बताएका छन् । गाजालाई पर्यटन क्षेत्र बनाउन दशकअघि तत्कालीन जिल्ला परिषद्ले पनि माग गरेको थियो । पर्यटन मन्त्रालयमा समेत यसको महत्व र आवश्यकताबारे पत्र पठाइसकिएको पुनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति