गाउँबाट केन्द्र घेर्न त सकिएन, जसले हामीलाई सिध्याउन खोजे, उसैसँग मिल्नुपर्ने बाध्यतामा फस्यौँ – अध्यक्ष प्रचण्ड

काठमाडौं, १७ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै दुई घण्टा लगाएर जारी आठौँ महाधिवेशनमा आफ्ना दस्तावेजमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। सो क्रममा उनले समाजवादी क्रान्तिको चरणमा पुग्ने योजनादेखि वित्तीय पुँजीवादसम्मको व्याख्या गर्ने प्रयत्न गरे । प्रचण्डले दिएको जवाफको सारः

–हामी बिग्रेको हो र बिग्रेका छौँ है भनेर स्वीकार गर्ने, सच्याउन प्रयत्न गर्ने पार्टी पनि हाम्रै हो। हामीमा विचलन छ, तर हामी नै हो सुध्रने पनि अरु सक्दैनन्। त्यो हिसाबले अब हामी सुध्रनेतिर अघि बढ्यौं। –हामी यो दस्तावेजमार्फत फेरि फड्को हान्दैछौँ। १५ वर्षदेखि पार्टी जहाँ थियो अब त्यस्तो रहने छैन। आमूल परिवर्तन र रुपान्तरण हुनेछ, कमरेडहरुले देख्नुहुनेछ, त्यसको सुरुवात भइसक्यो।

–यो पार्टी बदल्ने संकल्प हो, दस्तावेजमा लेखेकै त्यही हो। यसमा क्रान्तिकारिता छ, स्वीकारोक्ति छ र नयाँ कार्यक्रम ल्याउने योजना छ, कार्यदिशामा भएका अलमल अब रहँदैनन्, हल भएका छन्। कतिपय त हल हुने क्रममा छन्।

–जो कमरेड बदलिनुहुन्न, उहाँहरु छुट्नुहुनेछ।

–गाउँबाट केन्द्र घेर्न त सकिएन, जसले हामीलाई सिध्याउन खोजे, उसैसँग मिल्नुपर्ने बाध्यतामा फस्यौँ, त्यही भएर केही अलमल भए। जनतासँग सम्बन्ध टुट्यो।

–अब जाने यसरी हो भन्ने निष्कर्ष नहुँदा पार्टीमा विभाजन आयो। किरणजी, बाबुरामजीहरु फुटेर जानुभयो। त्यही भएर यो दस्तावेजमा शान्ति प्रक्रियायता भएका जे जति कमजोरी छन्, तिनको संश्लेषण गरिएको छ।

–हाम्रो क्रान्ति राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन प्रभाव र तत्कालीन परिस्थितिबाट निर्देशित रह्यो। पुरै सत्ता लिने अनि मात्र वार्ता भन्दा गोञ्जालो कहाँ पुगे? जे जे पर्छ सबै लडेर मरेर सकिने क्रान्तिकारी हो? –दक्षिणपन्थी विचलनतिर गएकोले पार्टी ध्वस्त भयो भन्ने कमरेडहरुले जितेको भए म पनि पछि लाग्थेँ। तर, छुट्टै जाने, अर्कै पार्टी प्रवेश गर्ने कमरेडहरुले त्यो कुरा पुष्टि गर्न सक्नुभएन। क्रान्तिको विकास गरेर मोडेल प्रस्तुत गर्न सक्नुभयो त?

–शान्ति सम्झौतामा गिरिजा–प्रचण्ड हस्ताक्षरित विज्ञप्ति हाम्रो मात्र होइन। दलाललाई पनि हिस्सा दिएर नै हामीले नेतृत्व गरेका हौँ। सरकार परिवर्तनपछि बुर्जवा र दलाललाई पनि राजनीतिको सेयर दिइएको हो। हामी एक्लैले सबै गर्न सम्भव भएको होइन।

–केपी ओलीलगायतहरु यो गणतन्त्रलाई प्रतिक्रियावादी गणतन्त्र बनाउन चाहन्छन्। हामी जनवादी गणतन्त्रमा रुपान्तरण गर्न चाहन्छौं। त्यसकै लागि हो अहिलेको संघर्ष। कमरेडहरु, हामी पुग्ने बाटो प्रष्ट छ है, कुनै द्विविधा नहोस्। नेतृत्व त्यसका लागि सचेत छ।

–हामी जुन वर्गका लागि लड्यौँ, त्यसलाई खोस्ने प्रयास भइरहेको छ, हामीले खबरदारी र पहलकदमी लिनुछ, खोसिन दिनुहुँदैन।

–हामी विश्व साम्राज्यवादी र देशभित्रको प्रतिक्रियावादीको तारोमा छौँ। उनीहरु त यो महाधिवेशन समेत कसरी भाँड्न, असफल पार्न सकिन्छ भनेर लागेका छन्। नेताहरुको बीचमा प्वाल पार्ने, विवाद सिर्जना गर्ने, पदीय लडाईं रहेको कुप्रचार गर्ने र भाँडभैलो मच्चाउन लागेको लाग्यै छन्, तर त्यसलाई असफल पारियो। जसरी भव्य रुपमा महाधिवेशन भयो, त्यसैगरी शानदार रुपमा अरु काम गरेर पार्टी चलाउँछौँ।

–तपाईंहरुले धेरै नै कुरा उठाउनुभएको छ, मैले हिजो पनि परिवारसँग सल्लाह गरेँ, अब अहिले बसेको घर छाडेर गाउँ जाने। म मन्त्री, प्रधानमन्त्री पनि छैन, कतै जान समस्या पनि पर्दैन। यो कल्पना मात्र होइन, चुनाव पनि आउँदैछ, एक महिना रोल्पा बसेँ भने काठमाडौंमा के होला, त्यो हेर्न मन छ कमरेडहरु। म गाउँ जाने सोच्दैछु।

–कमरेडहरुले चीनको बारेमा पनि धारणा सोध्नुभएको छ, अहिलेको अवस्थामा किन चीनलाई जिस्काउने?

–अहिलेको रिम बनाउने हामी नै हो, फेरि आवश्यक परे रिम बन्छ, बनाइन्छ।

–निर्वाचन प्रणाली र शासकीय स्वरुपबारे संविधान सभामा राखिएको नोट अफ डिसेन्ट लाई नै कायम राखिनेछ, हाम्रो पार्टी त्यसबाट तलमाथि गर्दैन।

–अब बन्ने केन्द्रीय समितिले बडो दुःख पाउनेछ। काठमाडौं बस्न पाउँदैनन्, गाउँ जानैपर्छ। ३ देखि ६ महिना गाउँ गएर उत्पादनसँग जोडिनुपर्छ। –चुरे विनाशबारे हामी प्रष्ट छौं, त्यसलाई अब दस्तावेजमा समेटिन्छ, राम्रोसँग राखिन्छ।

–सुगौली सन्धिलाई कुख्यात र अपराधी भन्ने केही कमरेडहरुको सुझाव पनि आयो, तर अहिले दस्तावेजमा राखिएकै असमान नै राख्दा ठीक छ।

–भूपू गोरखा सैनिकहरुको समानताको विषय समेटिन्छ र त्यसका लागि हामी गर्न सक्ने गर्छौँ।

–नागरिकताका विषयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमै छलफल चलेको छ।

–दलित, मुस्लिम महिलाहरुको निश्चित प्रतिनिधित्व गराइन्छ। युवा सहभागिता संख्या संविधानमा रहेजस्तै लागू गर्छौँ।Enter

आज प्रतिवेदन जोडदार ढंगले पारित भयो । भोलि विधान पारित हुन्छ । केन्द्रीय समिति पनि भोलि नै निर्वाचित हुन्छ । फरक मत समेटियो । एउटा फरक मतलाई सम्मान गर्ने भनियो । अरु सबै समेटियो । विशेष महाधिवेशन भनेको संगठनको रूपान्तरण गर्नलाई र विचारलाई पनि अझ विकसित गर्नको लागि हामीले चुनावपछि एउटा अधिवेशन त गर्नुपर्छ । यो नै टुंगियो, यो अब सबै पूर्ण भयो भन्ने हाम्रो भनाइ छैन । एउटा ठूलो ऐतिहासिक शुरूआत वैचारिक विकासको यहाँबाट भयो । अब चुनावपछि हामी विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्ने ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति