उपत्यकामा खपत वृद्धिका कारण लोडसेडिङ

काठमाडौँ, १६ पुस । जाडोको समयमा खपत बढेकाले ट्रान्सफर्मरमा भार परेकाले उपत्यकाका केही स्थानमा लाेडसेडिङ भएकाे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

आम रूपमा चासो सम्बाेधन गर्दै कुलमान घिसिङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भने, “एकै पटक धेरै स्थानमा ट्रान्सफर्मरहरूमा समस्या देखा परेकाले केही जटिलता पैदा भयो । पानीका कारण कतिपय स्थानमा समयमै मर्मत गर्न पनि कठिनाई भयो । त्यसकारण उपभोक्ताको तहबाट चासो हुनु स्वभाविक नै हो ।” प्राधिकरणको आग्रह अनुसार नै बिजुलीको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गरिएकाले केही स्थानमा समस्या उत्पन्न भएको र त्यो समस्या आजदेखि समाधान हुने उनले जानकारी दिए । बिजुलीको आपूर्ति नभएर वा नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि उपलब्ध गराउन सक्ने अवस्थामा प्राधिकरण रहेको बताए ।

उनले काठमाडौँ उपत्यका भित्रको बिजुलीको माग व्यवस्थापनका लागि विभिन्न स्थानमा नौ वटा सबस्टेशन निर्माणको क्रममा रहेकाले ती सम्पन्न भएपछि दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध गराउन सकिने तथ्याङ्क पेश गरे । “दीर्घकालीन रूपमा काठमाडौँ उपत्यकामा २ हजार मेगावाट बराबर बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ”, उनले भने, “केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरहरूमा आगलागी भएको कारणले समस्या आइलागेका छन् ।” उनले साँझको समयको अधिकतम माग हाल एक हजार ७०० मेगावाट र बिहान एक हजार ५५० मेगावाटदेखि एक हजार ६०० मेगावाटको हाराहारीमा रहेको जानकारी दिए ।

माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि बिहान र बेलुकाको अधिकतम माग व्यवस्थापनमा सहज भएको बताए । राजधानीमा जाडो बढेपछि बिजुलीको माग बढ्नु स्वभाविक रहेको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष उपत्यकामा नै ८० देखि १०० मेगावाट बराबरको माग बढ्न गएको उनले विवरण पेश गरे । वर्षातका कारण केही स्थानमा बिजुलीको माग अप्रत्यासित रूपमा वृद्धि भएकाले केही जटिलता देखिनु स्वभाविक रहेको बताए । प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ७०० वटा ट्रान्सफर्मर छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति