पातीहाल्ने क्षेत्र विकासका विषयमा दुई जिल्लाको सीमा विवाद प्रदेशमा

बलेवा, १५ पुस । बागलुङ र पूर्वीरुकुम जिल्लाबीच रहेको सीमा विवाद जिल्ला तहबाट टुङ्गो नलागेपछि प्रदेशमा पठाइने भएको छ । बागलुङ र रुकुमको सिमाना पातीहाल्नेमा भएको विवाद जिल्ला तहमा भएका विभिन्न चरणका छलफलबाट टुङ्गो नलागेकाले जिल्ला समन्वय समितिले सीमा विवाद समाधानका लागि प्रदेश सरकारको साथ लिने भएको हो ।

दुई जिल्लाका जनप्रतिनिधि र प्रशासकीय टोली, पालिकास्तरका समूह र दुवै जिल्लाका प्राविधिक समूहका बीच पटकपटक भएका छलफलबाट विवाद समाधान नभएपछि समाधानका लागि प्रदेशलाई अनुरोध गर्ने निर्याण भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए । सीमा विवाद समाधानका लागि गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई लेखी पठाउने गरी पाचौँ जिल्लासभाले निर्णय गरेको छ । “हामीले पटकपटक छलफल र प्रयास गरेका थियौँ तर सकिएन्”, ढुङ्गानाले भने, “अब प्रदेश र सङ्घीय सरकारलाई विवाद मिलाउन अनुरोध गर्ने जिल्लासभाले निर्णय गरेको छ ।” जिल्ला समन्वय समितिले प्रदेश सरकारलाई पत्राचार गर्ने र विवाद समाधान छिटो गर्न ध्यानाकर्षण गराउने भएको छ । “पातीहाल्ने पर्यटकीय क्षेत्र हो, यहाँको विकास कसले गर्ने भन्ने विषय लामो समय विवाद रहँदा अन्योल हुन्छ”, उनले भने, “हामीले आठ १० मिटर त्याग गर्दासमेत रुकुम तयार भएन, समस्या बल्झाउनुभन्दा माथिल्लो निकायमा पुर्‍याउनु न्यायोचित ठानियो ।” विवाद समाधानका लागि बागलुङ र पूर्वी रुकुमको नापी कार्यालयका प्राविधिकले स्वतन्त्ररूपले नक्साङ्कन गरेका थिए । प्राविधिकले गरेको नक्साङ्कनका आधारमा सीमामा किल्ला गाड्न बागलुङले आग्रह गरे पनि रुकुमले मानिरहेको छैन।

बागलुङको निसीखोला र पूर्वीरुकुमको भूमे गाउँपालिकामा विवादित सिमाना पर्छ । बागलुङतर्फको जमिन केही समथर र रुकुमतर्फको जमिन केही भिरालोे छ । सिमानामा रहेको रिघ ताल बागलुङ वा रुकुमपूर्वको भूभागमा पर्ने भन्ने विषयमा पनि विवाद छ । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि पातीहाल्नेको विवाद थप उत्कर्षमा पुगेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति