काठमाडौं,१३ पुस। नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा धनाढ्यको सूची र विश्वका ठूला देशको सैन्य खर्चको विवरण किन राखिएको भन्दै प्रश्न गरेका छन् ।
समूहगत छलफलका क्रममा उनले प्रचण्डको दस्तावेजमा समावेश १० जना धनी व्यक्तिको सूची र सैन्य खर्च र सैन्य शक्तिको तालिकामाथि प्रश्न उठाएका हुन् ।
‘कम्युनिस्टको दस्तावेजमा यी विषयले स्थान पाउने कुरा होइन । किन राखियो ? प्रश्न स्वाभाविक छ अध्यक्षले जवाफ दिनुहोला’ उनले भने ।
समग्रमा प्रचण्डको प्रतिवेदनले विश्लेषण र संश्लेषणले गन्तव्य पहिल्याउन नसकेको, समाजवादको नेपाली बाटो भनिए पनि त्यो समाजवादको चरित्र के हुन् ? नेपालको सन्दर्भमा समाजवादको चरित्र कस्तो हुन्छ ? र त्यो प्रक्रिया के हुन्छ? भन्ने प्रस्तुत दस्तावेजमा आउन नसकेको उनले बताए । साथसाथै अन्तर्राष्ट्रिय रुपमा समाजवाद कहाँ छ ? कम्युनिस्टहरु कहाँ कहाँ छन् ? उनीहरुसंग नेपालको सम्बन्ध कस्तो हुन्छ? भन्ने विषय प्रचण्डको दस्तावेजमा छुटेकाले थप गर्नुपर्ने देवकोटाको सुझाव छ । नेपाली राजनीतिक दलहरुसंगको सम्बन्ध, बर्गीकरण र समीक्षाका साथसाथै नेपाली समाजको वर्ग विश्लेषण पनि प्रचण्डको दस्तावेजमा थपेर पास गर्नुपर्ने देवकोटा बताउँछन् ।
प्रतिक्रिया