अफगान महिलालाई लामो यात्रामा प्रतिबन्ध

काबुल , १३ पुस । अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाई पुरुष नातेदारबिना लामो यात्रा गर्न प्रतिबन्ध लगाएको छ । आइतबार जारी यात्रा निर्देशिका तालिबानले गत अगस्टमा शासनसत्ता हातमा लिएयता महिला अधिकारमाथि गरिएको पछिल्लो कटौती हो ।तालिबान सरकारद्वारा जारी यात्रा निर्देशिका अनुसार अब महिलाहरूले ७२ किलामिटर (४५ माइल) भन्दा लामो यात्राका लागि परिवारका पुरुष सदस्यलाई साथमै राख्नुपर्ने उल्लेख छ ।

नयाँ निर्देशिकाअनुसार अनुहार छोप्ने कपडा वा हिजाब नलगाएका महिलालाई कुनै पनि सवारीले ओसारपसार गर्न नपाउने जनाइएको छ । त्यस्तै, सवारीसाधनमा कुनै पनि प्रकारका संगीत बजाउनसमेत प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले भने यी सबै प्रतिबन्धहरू अस्थायी भएका र सबै सार्वजनिक स्थानहरू महिलाका लागि सुरक्षित बनाउने प्रयासस्वरूप लागू गरिएको जनाएको छ ।अधिकारवादी समूह ह्युमन राइट्स वाचले ‘तालिबान सरकारको पछिल्लो कदम महिलालाई कैदी बनाउने कार्य’ भएको प्रतिक्रिया दिएको छ । समूहका महिला अधिकार सहायक निर्देशक हिथर बारले ‘सरकारले महिलालाई प्राप्त हुने अवसर बन्द गरिदिएको र हिंसापीडितलाई सुरक्षित स्थानमा जान रोकेको’ बताए ।

‘मलाई निकै दुःख लागेको छ,’ नयाँ निर्देशिकाप्रति प्रतिक्रिया जनाउँदै काबुलकी फातिमाले भनिन्, ‘म अब स्वतन्त्र रूपमा कहीं जान नपाउने भएँ । म वा मेरी छोरी बिरामी भएको अवस्थामा श्रीमान् साथमाल नभए मैले के गर्ने ?’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति