खाद्यले मापदण्डअनुसार नभएको भन्दै धान फिर्ता गरेपछि किसान निराश

भजनी, ८ पुस । कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिदका लागि टीकापुर नगरपालिका–७ मा खरिद केन्द्र स्थापना गरी धान खरिद सुरु गरेपछि बाढी र डुबानबाट बचाएको २० क्विन्टल धान ट्र्याक्टरको ट्राली भरेर सत्ती पुगे । खाद्यले धान तोकिएको मापदण्डअनुसार नभएको भन्दै फिर्ता भएपछि चाैधरी निराश बनेका छन् ।

“मूल्य पाइन्छ भनेर बाहिर धान बिक्री गरिएन । केन्द्रले पनि धान गुणस्तरीय छैन भन्दै फिर्ता गरिदियो”, उनले भने, “बाढीबाट बचाएको धान बेचेर लगानी उठाउने आश थियो, त्यो पनि मर्‍याे ।” विक्रम त्यसको एक उदाहरण मात्रै हुन् । कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानसँग यो वर्ष गुणस्तरीय धान छैन । अधिकांश धान बाढीमा बगेर गएको भए पनि डुबानमा परेको धान मुस्किलले बचाएको धान खाद्यले खरिद नगर्दा अर्को वर्ष धान रोप्नका लागि चाहिने खर्चको जोहो गर्न समस्या हुने किसान सुरेश चौधरीले बताउन्छन्। “ट्राली भरेर खाद्यको खरिद केन्द्रमा धान बिक्री गर्न पुगियो । पछि गुणस्तर पुगेन भनेर धान फिर्ता गरिदियो”, उनले भने, “बजारमा बिक्री गर्दा एक हजार २०० मा बिक्री गर्नुपर्ने बाध्यता छ । लगानी नै नउठ्ने भएपछि बिक्री गरेर पनि के गर्नु”

टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौँरा थारुले किसानको धान खरिदका लागि सरकारले खाद्यलाई दबाब दिनुपर्ने बन्दै किसानसँग बाढी र डुबानबाट बचेको धान जुनसुकै हालतमा सरकारले खरिद गर्नुपर्ने बताएका छन् । “किसानलाई गुणस्तरीय धान ल्याउभन्दा किसानले कहाँबाट ल्याउन सक्छ । किसानसँग जस्तो धान छ, उसले त्यस्तै ल्याउने हो । त्यो धान खाद्यले खरिद गर्नुपर्छ”, वडाध्यक्ष रामलालले भने, “स्थानीय सरकारले किसानको धान खरिद गर्नसक्ने क्षमता छैन । प्रदेश वा सङ्घीय सरकारले तत्काल किसानको खेतमा जस्तो धान उत्पादन भएको छ, त्यो धान खरिद गर्नुको विकल्प छैन ।” उनले टीकापुर नगरपालिका–७ सत्तीमा धान खरिदका लागि आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद नै नगरी फर्किएको बताउँदै त्यसले किसानमा झनै पीडा थपिएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले गत मङ्सिर २२ गतेदेखि किसानको धान खरिद सुरु गरेको थियो । आजसम्म कम्पनीले १४ क्विन्टल धान मात्रै खरिद गरेको छ । कम्पनीले पहिलो चरणमा ३५ हजार क्विन्टल किसानले उत्पादन गरेको धान खरिदका जिम्मा पाएको थियो । पहिलो चरणमा धनगढी र सत्तीबाट धान खरिद सुरु गरेको भए पनि सत्तीमा पहिलो दिनमै किसानसँग विवाद भएपछि धान खरिद बन्द गरिएको कम्पनीका कैलाली प्रमुख इन्जिला बस्नेतले बताए । “हामीले धान खरिद बन्द गरेका छैनौँ । किसानसँग गुणस्तरीय धान नभएका कारण धान खरिद बन्द भएजस्तै छ”, कार्यालय प्रमुख बस्नेतले भने, “हामीलाई जस्तो निर्देशन आएको छ त्यसैअनुसार काम गर्ने हो । अब एक क्विन्टल धानबाट ६४ दशमलव ०५ प्रतिशत चामल निस्कनुपर्छ । त्यो अहिले खरिद भएको धानबाट निस्कने कुनै सम्भावना छैन ।” उनले किसानले पहिले काटेको धान बाढी र डुबानले बिगारेको र पछि काटेको धान बढी पाकेर बिग्रेका कारणले पनि किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने खालको धान नभएको बताए । कैलालीमा मोटा धान खरिदका लागि मात्रै परिपत्र भएको बताउँदै प्रमुख बस्नेतले जुन धान रु दुई हजार ७५२ मा खरिद गर्दै आएको बताए ।

“हामीले भनेर केही हुँदैन । केन्द्रबाट आएको निर्देशनानुसार हामीले काम गर्ने हो”, उनले भने, “तोकिएको मापदण्डभन्दा तलमाथि भएको धान खरिद भएको अवस्थामा हामीले पनि कारवाही भोग्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा आफैँलाई जोखिममा राखेर धान खरिद गर्नसक्ने अवस्था पनि भएन ।” उनले यो वर्ष किसानसँग कम्पनीले तोकेको मापदण्डअनुसारको धान नभएकाले अब धान आउने सम्भावना पनि निकै कम भएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति