सभामुख-कानूनमन्त्रीबीच भेटवार्ता :, बोलाइयो कार्यव्यवस्थाको बैठक

काठमाडौं, ६ पुस । सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठक अघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको हो ।भेटमा भएका कुराकानीको विषय सार्वजनिक भएको छैन । तर एमसीसीबारे छलफल भएको हुनसक्ने कानूनमन्त्री निकट स्रोतले बतायो ।

सभामुख सापकोटाको सचिवालयका एक सदस्यले भने उक्त भेट नियमित भएको बताए । उनले भने, ‘सभामुख र कानुनमन्त्रीबीचको भेट नियमित र सामान्य हो । विशेष कुरा केही पनि भएको छैन ।’कानूनमन्त्रीसँगको भेटपछि सभामुख सापकोटाले मंगलबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्दछ । यसअघि गत मंसिर २८ गते पनि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए । सो बैठकले ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरेको थियो ।मंगलबारको समितिको बैठकमा एमसीसीको एजेण्डाबारे छलफल हुनसक्ने कतिपयको अनुमान छ ।

तर प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहमति नभएकाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयबारे छलफल नहुने सभामुख निकट स्रोतले बतायो ।संसद सचिवालयले सोमबार सार्वजनिक गरेको मंगलबारको सम्भावित कार्यसूचीमा कानुन मन्त्री बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति