काठमाडौँ, ३ पुस । एमाले नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् ।
एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावलले यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए । उनले ट्विटरमा लेखेका छन्, मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ।
यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका थिए ।थप जिम्मेवारीका लागि अध्यक्ष ओली र रावलको परामर्शबमोजिम हुने पोखरेलको भनाइ थियो । पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।
प्रतिक्रिया