विश्व प्रसिद्ध दौडमा महिलातर्फ नेपालका सुनमाया पहिलो, मीरा दोस्रो

काठमाडौ, २६ मंसिर । थाइल्यान्डमा सञ्चालित प्रसिद्ध दौड प्रतियोगिता यूटीएमबी अल्ट्रा टैल रेस इन्थानोन–५ मा महिलातर्फ नेपालकी सुनमाया बुढाले बाजी मारेकी छन्।

हिजो शनिबार बिहान सुरु दौड प्रतियोगिताअन्तर्गत बुढाले विश्वका चर्चित महिला धावकहरूलाई पछि पार्दै ११० किलोमिटर लामो निर्धारित दूरी १४ घण्टा १२ मिनेट ४८ सेकेन्डमा पार गरी पहिलो भएकी हुन्। सबै (महिला–पुरुष) मा भने उनी तेस्रो भएकी छन्।

यस्तै महिलातर्फ नेपालकै मीरा राई दोस्रा भएकी छन्। उनले १७ घण्टा ५४ मिनट १ सेकेन्डमा अर्थात् बुढाभन्दा २ घण्टा १८ मिनेट ४७ सेकेन्डले पछि हुँदै दोस्रो स्थान हासिल गरेकी हुन्।

यो खबर तयार पार्दासम्म महिलातर्फ थाइल्यान्डकै सावाङ्जित साएङोउ तेस्रो स्थानमा अग्रता लिइरहेकी छन्। यूटीएमबीअन्तर्गतको अल्ट्रा ट्रैल रेस विश्वकै प्रसिद्ध दौड प्रतियोगितामध्ये एक हो। ​जुन थाइल्यान्डको उत्तर पश्चिममा अवस्थित सबैभन्दा अग्लो हिमाल डोई इन्थानोन आसापास आयोजना गरिन्छ। इन्थानोन थाइल्यान्डको राष्ट्रिय निकुन्ज हो। उक्त हिमाललाई थाइल्यान्डको छाना मानिन्छ। दौडका क्रममा धावकहरूले साँचो साहसिक अनुभव लिन्छन्।

सुन्दर नदी, लुकेका झरना, शाही चिहानहरू पार गर्दै र स्थानीय मानिसहरूसँग साक्षात्कार गर्दै दौड पूरा गरिन्छ। दौडको समय सीमा ३० घण्टा हुन्छ।

बुढा द नर्थफेस एन्डभान्चर टिमको प्रतिनिधित्व गर्दै दौडमा सहभागी भएकी हुन्। ​​सुनमायाको लगाव तथा दौडमा विश्वस्तरीय क्षमता देखेर एसियाकै प्रसिद्ध ‘द नर्थ फेस एडभेन्चर टिम’ले उनलाई हालसालै पूर्णकालीन खेलाडीका रूपमा अनुबन्ध गरेको हो। उक्त टिमको प्रधान कार्यलय हङकङमा छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति