काठमाडौं, २५ मंसिर ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनावी तालमेलबाहेक अन्य कुनै पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्।
समाजवादी प्रेस संगठनले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अहिलेको लागि चुनावी तालमेल मात्र हुने बताएका हुन्। ‘अहिलेका लागि चुनावी तालमेल मात्रै हो, कुनै पार्टीसँग अहिले नै एकिकरणको सम्भावना र कुनै गुन्जायस छैन,’ उनले भने।अहिले आफूहरू पार्टीलाई बलियो बनाउने काममा लागेको भन्दै उनले पार्टी बलियो बनेपछि अन्य विचार मिल्ने पार्टीसँग एकिकरण गर्ने प्रक्रिया अघि बढाउने बताए।एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेता नेपालले भने, ‘आफूले चुनाव जित्नलाई राप्रपा र माओवादीको साहारा लिनुपर्ने अरूले मिल्न नहुने।’नेता नेपालले न्यायोचित कार्यका लागि मिलेर जाने उल्लेख गर्दै राष्ट्रिय सभादेखि स्थानीय निर्वाचनहुँदै मिलेर जाने सहमति गरिसकेको बताए। नेपालले एमालेमा रहेका कतिपय नेताको घरबाट बिहान हराएको परिवारको सदस्य जस्तै भएको उल्लेख गर्दै केपी ओलीको प्रवृत्ति बुझेपछि एकिकृत समाजवादीमै आउने दाबी गरे।
‘केही समय केपी ओली सुध्रिन्छन् भनेर बसेका हुन्, केपी ओली कुनै हालतमा सुध्रिदैनन्, उनले भने, ‘ओलीले एमालेलाई प्राइभेट कम्पनी बनाए। त्यसमा नअल्झिनुस्। मुक्त भइहाल्नुस्। ओली जी सुध्रदैनन्। दास भइरहने कि क्रान्तिकारी धारमा आउने। आफैं विचार गर्नुस्।’नेपालले पछिल्लो समय राजतन्त्रले टाउको ठड्याउने प्रयत्न गरेको भन्दै अब पुरानो ईतिहास नदोहोरिने दाबी गरे। ‘अब प्रतिगमनले टाउको ठड्याउने प्रयत्न नगर्दा हुन्छ, अब पनि प्रतिगमन सल्बलाउन थाले जनताको ज्वालामुखी बिस्फोट हुन्छ, नेता नेपालले भने।नेता नेपालले केपी शर्मा ओलीले झ्याल ढोका थुनेर विचार राख्न नदिएपछि एमाले छाड्नुपरेको बताएका छन्। विचार र मतअभिमत राख्न नदिएपछि आफूले ठूलो मेहनतका साथ बनाएको एमाले पार्टी छाड्नुपरेको उनले बताए।
को-अर्डिनेसन केन्द्रदेखि एमालेलाई एमाले बनाउन आफू लागिपरेको स्मरण गर्दै अध्यक्ष नेपालले पुष्पलालले केसरजंग रायमाझीसँग बिद्रोह गरे जस्तै आफूले पनि केपी ओलीसँग बिद्रोह गरेको बताए।कम्युनिष्ट पाटीलाई बिसर्जन हुन नदिन आफूले बिद्रोह गरेको र एकिकृत समाजवादी पार्टी नयाँ क्रान्ति निर्माण र कम्युनिष्ट आन्दोलनको निरन्तरता भएको बताए।
प्रतिक्रिया