नेकपा पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा देखिए ओली, प्रचण्ड र नेपाल

काठमाडौं, २४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा हकांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिएका हुन् ।रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी भएका छन् ।

पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र प्रचण्ड एउटै मञ्चमा देखिन छाडेका थिए । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै प्रचण्डले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।पुस ४ गते खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर ओलीले आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए । उनले प्रस्ताव फिर्ता नभए आफू जस्तोसुकै अप्रिय कदम चाल्न पनि पछि नपर्ने संकेत गरेका थिए । त्यही संकेतअनुरुप नै उनले पुस ५ गते बिहान प्रतिनिधिसभा विघटनको निर्णय गरे । त्यस्तै ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन ।एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा गए पनि प्रचण्ड सहभागी भएका थिएनन् ।

माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो । एमालेले भने एकीकृत समाजवादी पार्टीलाई अवैधानिक करार गर्दै निम्तो नै पठाएको थिएन । एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ ।

त्यस्तै कांग्रेस महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललगायतका नेता पनि सहभागी भएका छन् ।कांग्रेस महाधिवेशनमा सहभागी हुन भारतबाट भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र हरीश द्विवेदी, भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिक तथा बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरिया पनि आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति