नेपालले जटिल राजनीतिक मतभेदलाई पनि वार्ताबाटै समाधान गर्न सक्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल राजनीतिक मतभेदलाई पनि वार्ताबाटै समाधान गर्न सकिने नेपालको उदाहरण रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको दुई दिने लोकतन्त्र शिखर सम्मेलनमा सहभागी हुँदै प्रधानमन्त्री देउवाले बिहीबार उक्त कुरा बताएका हुन् ।

भर्चुअल रुपमा भिडियोमार्फत सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्र र लोकतान्त्रिक रुपान्तरणको यात्रामा नेपालको अनुभव सुनाएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले नेपालको स्वदेशमा विकसित शान्ति प्रक्रियाको अग्रपंक्तिमा भएका उपलब्धिहरू प्रकाश पार्दै भने,‘शान्ति प्रक्रियाको अभिन्न अंगका रूपमा निर्वाचित संविधानसभाले लोकतान्त्रिक र समावेशी संविधान बनाएको छ ।’ उनले लैङ्गिक समानताका लागि नेपालको प्रतिबद्धता र उपलब्धिबारे पनि चर्चा गरे ।

देउवाले लोकतन्त्रले जनताको आकांक्षा पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘मुलुकले लोकतन्त्रलाई दीगो बनाउन आर्थिक एजेन्डालाई प्राथमिकता दिएको छ ।’परराष्ट्र मन्त्रालयका अनुसार देउवाले सम्बोधन गर्नुको साथै सम्मेलनको पूर्ण सत्रको लागि आफ्नो पूर्वरेकर्ड गरेको सन्देश पनि पठाएका छन् ।

‘प्रधानमन्त्रीले सन्देशमा विश्वव्यापी मताधिकार, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, अधिकार र स्वतन्त्रताको संरक्षणलाई नेपालको बहुदलीय प्रजातन्त्रका प्रमुख विशेषता भएको बताए,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, नेपालले प्रजातन्त्र, मानवअधिकार र सुशासनका लागि देशको दृष्टिकोणका साथै यी क्षेत्रमा भएका उपलब्धिहरूबारे पनि छुट्टै वक्तव्य दिएको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति