कांग्रेसका प्रदेश सभापति, कहाँ कसले जिते ?

काठमाडौं, २० मंसिर ।  नेपाली कांग्रेसले पहिलोपटक प्रदेशहरूमा पनि पार्टी संरचना गठन गरेको छ।विधान संशोधन गरेर संघीय संरचनामा पार्टीलाई ढाले पनि कांग्रेसले अहिलेसम्म प्रदेश संरचना बनाएको थिएन। १४ औं महाधिवेशनका बेला भने कांग्रेसले सातै प्रदेशमा अधिवेशन सुरू गरेको छ। प्रदेश नम्बर २ बाहेक अरू ६ वटा प्रदेशमा अब कांग्रेसको प्रदेश कार्यसमिति तयार भएको छ। प्रदेश नम्बर १ मा केन्द्रीय सदस्य गुरूराज घिमिरे र सुदूरपश्चिम प्रदेशमा बीरबहादुर बलायर प्रदेश सभापति उठ्न गएका थिए। घिमिरे २ मतले पराजित भए भने बलायर भारी मतान्तरले प्रदेश सभापति चुनिए।

कांग्रेसको प्रदेश अधिवेशनमा पनि गुटको प्रतिस्पर्धा भएको थियो। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छ वटा प्रदेशमा प्रतिस्पर्धा भएको थियो। प्रदेश नम्बर १ र बागमतीमा भने सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष मिलेका थिए। प्रदेश १ सभापतिमा सिटौला पक्षका उद्धव थापा जिते भने बागमतीमा सिटौला पक्षका उम्मेदवार भीमसेनदास प्रधानको सहयोगमा देउवा पक्षका ईन्द्रबहादुर बानियाँ प्रदेश सभापति चुनिएका छन्।बागमतीमा पहिलो चरणमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। सभापति देउवा पक्षबाट बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट प्रधान उम्मेदवार थिए। बानियाँले पहिलो, केसीले दोस्रो र प्रधानले तेस्रो मत ल्याएपछि ५१ प्रतिशत मत कसैले पनि नल्याएको भन्दै दोस्रो चरणको मतदान भएको थियो।दोस्रो चरणमा सिटौला पक्षका प्रधानले खुलेरै देउवा पक्षका बानियाँलाई समर्थन गरेका थिए।

कुन प्रदेशमा को सभापति

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा उद्धव थापा प्रदेश सभापति चुनिएका छन्। उनले २ मत अन्तरले केन्द्रीय सदस्यसमेत रहेका गुरूराज घिमिरेलाई पछि पारेका छन्। यद्यपी घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन्। थापा सिटौलानिकट हुन्। प्रदेश १ सभापतिमा उनलाई सभापति शेरबहादुर देउवा पक्षको पनि समर्थन थियो। थापाले ८४४ मत ल्याएका थिए। अर्का उम्मेदवार गुरूराज घिमिरेले ८४२ मत ल्याए।

बागमती प्रदेश

बागमतीको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बानियाँ सभापति शेरबहादुर देउवानिकट हुन्। उनी बागमती प्रदेश संसदीय दलका नेतासमेत छन्।

बागमतीमा पहिलो चरणमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। देउवा पक्षबाट बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट नेता भीमसेनदास प्रधान सभापति पदमा भिडेका थिए।

पहिलो चरणमा धेरै भोट बानियाँले ल्याए। बानियाँले ९९२ मत ल्याएका थिए भने केसीले ८७२ मत ल्याएका थिए। तेस्रो बढी मत ल्याएका प्रधानले भने दोस्रो चरणमा भएको निर्वाचनमा बानियाँलाई साथ दिएका थिए। प्रधानले १९७ मत ल्याएका थिए।

कांग्रेस विधानमा सभापतिमा उठेकामध्ये ५१ प्रतिशत ल्याउने निर्वाचित हुने व्यवस्था छ। तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि फेरि मतदान भयो। प्रधानको समर्थनमा बानियाँ र दोस्रो बढी मत ल्याएका केसी प्रतिस्पर्धामा उत्रिएका थिए।

बागमतीमा कूल २१५१ मतमध्ये २०२५ मत खसेको थियो। बानियाँले १०८५ मत ल्याएर निर्वाचित भए भने केसीले जम्मा ९२७ मत पाएका थिए। केसी पक्षले नुवाकोटकै नेता रामशरण महत पक्षको सहयोग आफूहरूलाई नभएको दाबी गरेका छन्। नुवाकोट कांग्रेस सभापति पदमा पनि केसी पक्षका नेता केदारनरसिंह केसी महत पक्षका नेता रमेश महतसँग पराजित भएका थिए।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको सभापतिमा कास्कीका नेता शुक्रराज शर्मा निर्वाचित भए। संसदीय चुनावमा लगातार पराजित शर्मा पार्टीको चुनावमा भने सफल देखिएका छन्। उनी तीन कार्यकाल कास्की कांग्रेस सभापति थिए।

शर्माले ६१२ मतसहित सभापति जितेका थिए। शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। गण्डकीमा एक हजार एक सय ४६ मत खसेको थियो। सभापतिका अर्का उम्मेदवार अर्जुन जोशी पराजित भए, उनी सभापति शेरबहादुर देउवानिकट हुन्। जोशीले जम्मा ५२८ मत मात्रै ल्याएका थिए।

गण्डकी

उपसभापतिमा कल्पना तिवारी र गण्डकीका सामाजिक विकास मन्त्रीसमेत रहेका मेखलाल श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठ सभापति देउवानिकट हुन्। तिवारी स्याङ्जाका वालिङ नगरपालिकाको उपमेयर हुन्।पौडेल पक्षका तिवारीले ६२४ मत ल्याइन् भने देउवा पक्षका श्रेष्ठले ५५६ मत पाएका थिए।

महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर निर्वाचित भए। उनीहरू पौडेल पक्षका हुन्।

यस्तै महिला सहमहामन्त्रीमा ५५२ मत ल्याएर कोपिला रानाभाट निर्वाचित भइन्। खुला सहमहामन्त्रीमा रमेशकुमार पाण्डेले ६१८ मत र रामचन्द्र जोशीले ५६९ मत पाएर विजयी भए। पाण्डे लमजुङको मध्यनेपाल नगरपालिकाका मेयर हुन् भने जोशी पर्वतको कुश्मा नगरपालिकाका मेयर हुन्।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट रोल्पाका अमरसिंह पुन मगर प्रदेश सभापति निर्वाचित भएका छन्। उनी यसअघि रोल्पा कांग्रेस सभापति थिए।

अमरसिंहले ८५२ मत ल्याएर सभापति निर्वाचित भए भने सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याएर पराजित भए। शाह प्रतिनिधि सभा सांसदसमेत छन्। उनी सभापति शेरबहादुर देउवानिकट छन्।

प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन्।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८४७ र राजु खनालले ७९२ मत ल्याएर निर्वाचित भए। खनाल देउवा पक्षका हुन्।

महामन्त्रीमा पौडेल विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याएर विजयी भए भने सहमहामन्त्रीमा निमा गिरी ८३०, बिष्णु खनाल मुस्कान ८५९ र खगराज पाण्डेले ७७६ मत ल्याएर निर्वाचित भएका छन्।

लुम्बिनीमा एक हजार ६ सय ४८ मतदाता रहेकोमा एक हजार ६ सय ३१ मत खसेको थियो।

गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण पक्षले लुम्बिनीमा प्रभाव जमाउन सकेको थिएन। ११ मध्ये ९ जिल्ला सभापतिमा पौडेल पक्षले जितेका थिए। यसको प्रभाव प्रदेश अधिवेशनसम्मै रह्यो।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो। सभापति देउवा पक्षबाट जुम्लाका ललितजंग शाही, वरिष्ठ नेता पौडेल पक्षबाट कालीकोटका भूपेन्द्रजंग शाही र उपसभापति विमलेन्द्र निधिका तर्फबाट कालीकोटकै मोतीलाल बमले सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका थिए।

देउवा पक्षका ललितजंगले ४२२ मत ल्याएर सभापति जिते भने भूपेन्द्रजंगले ३१७ मत र तेस्रो भएका मोतीलालले जम्मा ७ मत मात्रै ल्याएका थिए। केन्द्रीय सभापति उठ्ने घोषणा गरेका उपसभापति निधिले कर्णालीमा प्रदेश सभापति उठाएर आफ्नो उपस्थिति देखाउन खोजेका छन्।

कर्णालीमा जम्मा ७५४ मत खसेको थियो। यहाँ सभापति देउवा पक्षले प्यानल नै जितेको थियो। कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि सभापति देउवा पक्षमै छन्। साथै महामन्त्री पूर्णबहादुर खड्का पनि देउवा पक्षमा छन्। उनीहरूको प्रभाव कर्णालीमा राम्रो देखिएको छ।

सुदूरपश्चिम प्रदेश

सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा सुरूमा देउवा र पौडेल पक्षबीच सहमतिमै कार्यसमिति चयन गर्ने गरी पटकपटक छलफल भएको थियो। तर पौडेल पक्षले धेरै पदाधिकारी मागेको भन्दै देउवा पक्ष चुनावमै भिड्न तयार देखियो।

प्रदेश सभापतिको उम्मेदवार सभापति देउवाकै जोडबलमा केन्द्रीय सदस्य बीरबहादुर बलायर बनेका थिए। सहमतिका लागि भन्दै देउवा पक्षले बलायरलाई सभापतिमा प्रस्ताव गरेको थियो।

प्रदेश सभापतिमा देउवा पक्षका बलायरको प्यानल नै जितेको थियो। यहाँ वरिष्ठ नेता पौडेल पक्षले नारायणदत्त मिश्रलाई सभापति उठाएका थिए।

यहाँ एक हजार ३ मत खसेको थियो। बलायरले ६८८ मतसहित सभापति जिते भने मिश्रले जम्मा २८० मतमात्रै पाएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति