पूर्ण खोप लगाएकालाई अब बुस्टर डोज (बुस्टर खोपबारे के भन्छ डब्ल्यूएचओ ?)

काठमाडौं, २० मंसिर । सरकारले कोभिड– १९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर डोज दिने तयारी गरेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको त्राससँगै स्वास्थ्य मन्त्रालयले बुस्टर डोजको अभियान सञ्चालन गर्न लागेको हो ।‘मंसिरको अन्तिम साता वा पुसको सुरुबाट बुस्टर डोज दिन सुरु गर्छौँ,’ आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भने, ‘प्रदेश, स्थानीय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत देशभरका १६ हजार ठाउँबाट अभियान सञ्चालन हुन्छ । सरकारी संयन्त्रलाई मिलाएर योजना सार्वजनिक गर्छौँ ।’पूर्ण खोप लगाएकालाई सोही कम्पनीको अर्को एक डोज थप्नुलाई नै बुस्टर डोज मानिएको छ ।

पूर्ण खोपका लागि जोन्सन एन्ड जोन्सनको एक डोज मात्रै लगाए हुन्छ भने अन्य कम्पनीको दुई डोज लगाउनुपर्छ ।मन्त्री खतिवडाले बुस्टर डोज दिनेबारे मन्त्रिपरिषद्मा पनि छलफल भइसकेको बताए । अघिल्लो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले पूर्ण खोप लगाएकालाई बुस्टर जोड चलाउन निर्देशन दिएको उनको भनाइ छ ।‘पूर्ण खोप लगाएकालाई अर्को डोज थप्नु नै बुस्टर डोज हो । तेस्रो डोज लिइयो भने अझै सुरक्षित भइन्छ भन्ने छ । ओमिक्रोनको त्रासबीच हामी पनि यसलाई प्रयोगमा लैजाँदै छौँ,’ मन्त्री खतिवडाले भने ।

बुस्टर खोपबारे के भन्छ डब्ल्यूएचओ ?

कोरोनाभाइरसको भेरियन्ट परिवर्तन भइरहँदा पूर्ण खोप लगाएका धनी राष्ट्रले आफ्ना नागरिकलाई बुस्टर खोप दिइरहेका छन् । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० सबै देशले आफ्ना जनताको जीवनरक्षा गर्न पाउनुपर्ने भन्दै बुस्टर खोपको विषयलाई चाहेर पनि स्वीकार गर्न नसकिने बताएको थियो । धेरैजसो खोपमा प्रायः प्रारम्भिक शृङ्खला र बुस्टर हुन्छ । अर्थात् बुस्टर मात्रा भनेको खोपको अतिरिक्त मात्रा हो । डब्ल्यूएचओले बुस्टर खोपलाई प्राथमिकतामा नपारेर खोपको पहुँच विश्वभर फैलाउनुपर्ने बताउँदै आएको छ । तर, डब्ल्यूएचओले आफ्नो राष्ट्रका पूर्ण जनसंख्यालाई खोप लगाइसकेपछि एन्टीबडी कम भएका दीर्घरोगीलाई तेस्रो मात्रा दिन सकिने बताउँदै आएको छ । डब्ल्यूएचओले बुस्टर खोपलाई प्राथमिकतामा नपारेर खोपको पहुँच विश्वभर फैलाउनुपर्नेमा जोड दिने गरेको छ ।

के हो बुस्टर डोज ?

बुस्टर मात्रा भनेको खोपको अतिरिक्त मात्रा हो । प्रारम्भिक शृङ्खला भन्नाले केही महिना वा वर्षको फरकमा लगाइने एक वा त्यसभन्दा बढी खोपको डोज अर्थात् मात्रा भन्ने बुझिन्छ, यसले व्यक्तिलाई ब्याक्टेरियल वा भाइरल सङ्क्रमणबाट आधारभूत सुरक्षा प्रदान गर्छ । धेरै भाइरल संक्रमणका लागि बुस्टर खोप सामान्य हो । उदाहरणका लागि मौसमी फ्लूको प्रत्येक वर्ष बुस्टर खोप लगाउनुपर्छ । यस्तै, भाइरसले आफ्नो अनुवांशिक गुण परिवर्तन गरिरहेको हुनाले खोप हरेक वर्ष परिवर्तन हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति