बागमती प्रदेशमा तीन उम्मेदवार कसैको पनि बहुमत आएन


काठमाडौं, १९ मंसिर ।नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा तीन उम्मेदवार कसैको पनि बहुमत नपाएपछि फेरि मतदान हुने भएको छ । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नआएको हो ।

निर्वाचन समितिका अनुसार इन्द्र बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् । यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ ।

नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । अब अर्को चरणको चुनावमा बढी मत ल्याउने बानियाँ र केसीबीच चुनाव हुनेछ भने ५० प्रतिशत भन्दा बढी मत ल्याउने विजयी हुनेछ ।

बानियाँ शेरबहादुर देउवा निकटका हुन् भने केसी रामचन्द्र पौडेल र प्रधान कृष्ण प्रसाद सिटौला पक्षका हुन् । अब हुने निर्वाचनमा सिटौला पक्षले जसलाई समर्थन गर्छ उसकै पक्षमा पल्ला भारी हुने देखिएको छ । निर्वाचन समितिका सदस्य रामप्रसाद अधिकारीले दोस्रो चरणको निर्वाचन आजै हुने र त्यसका लागि केहीबेरमा निर्वाचन तालिका सार्वजनिक गरिने बताए ।

कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अन्य पदतर्फको मतगणना भने सभापतिको टुंगो लागेपछि सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति