काठमाडौँ, १७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि पनि संसद चल्न नदिने भएको छ। दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि केन्द्रीय कार्यालय थापाथलीमा पदभार ग्रहणका क्रममा अध्यक्ष केपी शर्मा ओलीले यस्तो संकेत गरेका हुन्।
सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले यही अवस्थामा संसद चल्न नसक्ने संकेत गरेका हुन्। उनले सभामुख सापकोटामाथि पनि आक्रोश व्यक्त गर्दै अवैध ढंगले एमाले फुटाएको पनि आरोप लगाए। सभामुख एमालेविरुद्ध सत्ता पक्षीय गठबन्धनसँग मिलेर लागेका छन् उनले भने, अवैध ढंगले एमाले फुटाए।
ओलीले सभामुखले निष्पक्ष काम नगरेको बताउँदै आफूहरुले १४ सांसदलाई गरेको कारबाही सदर नगरेको प्रसंग पनि निकाले। सभामुखले हाम्रा पार्टीका सांसदमाथिको कारबाहीलाई सदर गरेनन्, उनले भने, हामीले जसलाई कारबाही गरेका थियौँ, साउन २५ गते कारबाही गरेकाहरु संसद र सरकारमा पनि छन्।
उनले एमालेविरुद्ध सभामुख प्रयोग गरेको बताउँदै संसद अघि बढ्न नसक्ने जनाउ दिएका हुन्। यसअघि एमालेले साउन २५ गते एमालेका माधव नेपालसहित १४ सांसदमाथि कारबाही गर्नुनपर्ने निर्णय सभामुखले लिएका थिए।
निर्वाचन आयोगले नेपालको समाजवादी पार्टीलाई मान्यता दिइसकेपछि मात्रै सभामुखले यो निर्णय लिएका थिए। त्यसपछि बसेको संसदमा एमालेले निरन्तर अवरोध गरिरहेको छ। एमालेको अवरोधबीच सरकारले पनि संसदलाई कुनै बिजनेस दिन सकेन। यस्तो अवस्थामा यही मंसिर २८ गतेदेखि बस्ने गरी बोलाइएको संसद बैठकमा पनि एमालेले अवरोध गर्ने रणनीति बनाएको हो।
प्रतिक्रिया