विक्रम पाण्डे पनि राजेन्द्र लिङ्देनतिर खुले

काठमाडौं, १६ मंसिर ।  निर्माण व्यवसायी एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे जारी एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनतिर खुलेका छन्। अहिलेसम्म कता खुल्ने टुंगो नभएका उनले अन्तिममा लिङ्देनलाई साथ दिने निर्णय लिएका हुन्। यससँगै लिङ्देन समूह झन् बलियो भएको छ। लिङ्देन पक्षले उनलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ। पाण्डे खुलेपछि लिङ्देन पक्षले केही बेरअघि आफ्नो पक्षबाट उठ्ने पदाधिकारीका सबै उम्मेदवार टुंगो लगाएको छ।यो समूहबाट अध्यक्षमा लिङ्देन, वरिष्ठ उपाध्यक्षमा पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र महिला उपाध्यक्षमा लीला श्रेष्ठ उम्मेदवार बनेका छन्।यस्तै महामन्त्रीमा धवल शमशेर जबरा, श्याम तिमल्सिना र रेखा थापा पनि लिङ्देनकै प्यानलबाट उम्मेदवार बनेका छन्।

अध्यक्षका अर्का दाबेदार वर्तमान अध्यक्ष कमल थापा पक्षले पनि उम्मेदवारबारे निर्णय गर्न छलफल गरिरहेको छ। यसअघि विक्रम पाण्डेलाई थापा पक्षले वरिष्ठ उपाध्यक्ष बनाउने लिष्टमा राखेको थियो।लिङ्देननिकट एक नेताका अनुसार पाण्डेसँग भएको छलफलपछि उनले समर्थन गर्न तयार रहेको बताएका हुन्।‘उहाँले राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाउन समर्थन गर्ने निर्णय गर्नुभयो,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँलाई वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय भइसकेको छ।’ती नेताका अनुसार कमल थापामा रहेका थुप्रै नेताहरुको समर्थन राजेन्द्र लिङ्देनलाई प्राप्त भइरहेको छ। बुधबारदेखि सुरु भएको राप्रपाको एकता महाधिवेशनको बन्द सत्र चलिरहेको छ।केही जिल्लामा प्रतिनिधि चयनमा देखिएको विवादका कारण निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छैन। निर्वाचन समिति अहिले छलफलमा छ। बिहीबारै अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ। महाधिवेशनमा देशभरबाट ४६ सय प्रतिनिधि काठमाडौँ आएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति