काठमाडौं, १६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू शुक्रबार अस्पतालबाट निवास फर्कने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुलाई बिदामा नबस्ने जानकारी गराएका छन् ।सर्वोच्च अदालतका न्यायाधीशहरुको भेलामा एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जबराले आफ्नो स्वास्थ्य अवस्था सुधार भएकाले शुक्रबार निवास फर्कने जानकारी गराएका हुन् ।कोरोना संक्रमण भएपछि गत सोमबार साँझदेखि प्रधानन्यायाधीश जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका थिए । विहीबार न्यायाधीशहरुको छलफलका क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश जबरालाई फोन गरेका थिए ।
त्यसक्रममा जबराले आफू संक्रमित भएर अस्पतालमा उपचाररत रहेको, शुक्रबार निवासमा फर्किने भनी जवाफ दिएको भनी कार्कीले अरु न्यायाधीशहरुलाई जानकारी गराएका थिए । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका निवेदनहरुमात्रै सुनुवाइ गर्ने भनी छलफल टुंगिएको एक न्यायाधीशले बताए ।बिहीबारको सर्वोच्च अदालतका न्यायाधीशहरुसँग नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले पनि छलफल गरेका थिए । छलफलका क्रममा उनीहरुले संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशले आफ्नो काम गर्न नसक्ने अवस्था भएमा’ स्वतः बरिष्ठतम न्यायाधीश कामू प्रधानन्यायाधीश हुने व्यवस्था भएको भन्दै त्यो भूमिका निर्वाह गर्न बरिष्ठतम न्यायाधीश दीपक कार्कीको ध्यानाकर्षण गराएका थिए ।
नेपाल बार एशोसिएसनले भने प्रधानन्यायाधीश जबरा आफ्नो दैनिक काम गर्न असमर्थ रहेको भन्दै स्वतः कामू प्रधानन्यााधीशको पद क्रियाशील हुनुपर्ने माग गरेको छ ।बारले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म सर्वोच्च अदालत परिसरमा धर्ना जारी राख्ने जनाएको छ । साथै प्रधानन्यायाधीश जबरा इजलासमा संलग्न भएमा त्यो इजलास समेत बहिस्कार गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया