काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश तथा विदेशका लगानी कर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।
देउवाले नेपालमा लगानी गर्नेहरुको सम्पत्ती र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताए ।प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकायहरु मिलेर काम गर्नुपर्ने धारणा राखे । उनले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताए ।
देउवाले आर्थिक पुनरोत्थानलाई तिब्रताका साथ अघि बढाउन, मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकार प्रतिवद्ध रहेको बताए ।प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन, व्यवसायको लागत घटाउन, सरकार कुनै कसर बाँकी राख्दैन । त्यसैले देश तथा विदेशका लगानी कर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु । नेपालमा तपाईहरुको लगानी र सम्पत्तीको सुरक्षा हुन्छ त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु ।’प्रधानमन्त्री देउवाले छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पारे । उनले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताए ।
प्रतिक्रिया