हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं, १२ मंसिर । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)को अनुमतिपत्र खारेज भएको छ । सरकारले दिएको समयभित्र बक्यौता नतिरेपछि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको अनुमतिपत्र खारेज गरेको हो ।

शुक्रबार बसेको प्राधिकरण बोर्डको बैठकले हेलो नेपालको आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए ।व्यवसायी अजय सुमार्गीको स्वामित्वमा रहेको यो टेलिकम कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय भएको यो दोस्रो पटक हो । यसअघि १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो ।प्राधिकरणको उक्त निर्णयविरुद्ध कम्पनी नेपाल सरकारसमक्ष पुनरावलोकनका लागि गएको थियो ।

कम्पनीको उक्त निवेदनका आधारमा मन्त्रिपरिषद्को २०७६ पुस २१ को बैठकले प्राधिकरणको उक्त निर्णयलाई उल्ट्याइदिएको थियो ।

साथै सरकारले कम्पनीले बुझाउनुपर्ने सबै किसिमको बाँकी बक्यौता पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तभित्रै र बाँकी चार किस्तामध्ये प्रतिवर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रै बुझाउने गरी समय दिएको थियो ।

यदि तोकिएको समयभित्र बक्यौता नबुझाएको खण्डमा कानूनबमोजिम कारबाही गर्नसमेत प्राधिकरणलाई सरकारले भनेको थियो ।सरकारले दिएको उक्त किस्ताबन्दीको सुविधाको आधारमा कम्पनीले बाँकी बक्यौता रकम नबुझाएपछि पुनः प्राधिकरणले अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । हेलो नेपालले बक्यौताको किस्ताबापत २०७८ असार मसान्तभित्र ३३ करोड ५८ लाख ४७ लाख ३०३ रुपैयाँ बुझाउनुपर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति