एमालेको बन्दसत्र आज, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए । ‘बिहान १० बजे बन्दसत्रको कारबाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भने ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।यता एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ ।

शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो । निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् । विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले जानकारी दिए । विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति