महाधिवेशन उद्घाटनले सार्वजनिक सवारी रोकिन हुन्न : एमाले

काठमाडौं, ‍९ मंसिर। नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रमले गर्दा सवारीको आवागमन बन्द गर्न नहुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन्। उनले यसबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको भन्दै शुक्रबार सवारी संचालन हुन पाउनु पर्ने बताएका हुन।

उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताए।

भट्टराईले सार्वजनिक सवारी साधनमा अवरोध गर्ने पार्टीको नीति नरहेको स्पष्ट पारे। हामीले ठूला मालवाहक सवारी साधनलाई एक दिन नचलाएर सहयोग गरिदिन आग्रह गरेका छौं तर अत्यावश्यकीय र सार्वजनिक सवारी सञ्चालनमा एमालेले अवरोध गर्दैन, उनले भने, बरू स्वयंसेवकले सहजरुपमा पास हुने व्यवस्था मिलाउनेछन्।

उनले नो भेइकल मुभमेन्ट दुनियाँमा कतै पनि नहुने बताए। भेइकल मुभमेन्ट हुन्छ, नो भेइकल मुभमेन्ट दुनियाँमा कहिँ पनि हुँदैन, भट्टराईले भने, भेइकल मुभमेन्टलाई व्यवस्थापन गर्ने जिम्मेवारी प्रशासनको हो। पब्लिक गाडी पनि गुड्छ, महाधिवेशनमा आउने गाडी पनि चल्नुपर्छ, एम्बुलेन्स पनि चल्नुपर्छ, दमकल, साइकल पनि चल्नुपर्छ, हेभी गाडीहरु भोलि नचलुन् हाम्रो भनाई यत्ती हो।

जिल्ला सुरक्षा समिति चितवनको बैठकले मंसिर १० गते विहान ९ बजेदेखि साढे ५ बजेसम्म नेकपा एमालेको महाधिवेशनलाई मध्यनजर गरेर भरतपुरका विभिन्न सडकमा सवारी निषेध गर्ने निर्णय गरेको थियो।

पूर्व–पश्चिम राजमार्ग र नारायणगढ-मुग्लिन सडकको केही हिस्सामा समेत सवारी साधन नचल्नेगरि गरिएको निर्णयको सर्वत्र विरोध भएको थियो। उक्त दिन पश्चिम नेपालबाट एम्बुलेन्स पनि चितवन प्रवेश गर्न सक्ने अवस्था नरहेको प्रशासनले बताएको थियो। त्यस्तै उनले महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने छन् भने १०३ जना पर्यवेक्षक रहनेछन्। यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि र दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति