झापा लागुऔषध तस्करीको ट्रान्जिट बन्दै

दमक, ९ मङ्सिर । पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागुऔषधको त्यस्तो अवस्था बाहिर आएको हो ।

सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको बताइएको छ । यसकाे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी बिक्री हुने गरेको तथ्याङ्कले देखाएको छ । जिल्लाको शान्ति सुरक्षामा समेत नकारात्मक असर परिरहेको प्रहरीले जनाएको छ । बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा पनि नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वी काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज भारतीय नाकाबाट बढीजसो लागुऔषध जिल्लामा भित्रिने गरेको छ । त्यो नाकाहुँदै कारोवारीले जिल्लाको सहरी क्षेत्र धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमकलगायतका क्षेत्रमा पुर्‍याउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार खुला सीमाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणाममा लागुऔषध ओसारपसार हुने गरेको छ ।

सङ्गठित रुपमा हुने लागुऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आए पनि सफल हुनसकेको छैन । तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको र त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भइरहेको उनको भनाइ छ । झापा जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालू आर्थिक वर्ष २०७७/७८ को मङ्सिरसम्म लागुऔषधका मुद्दा ६५ दशमलव ७ प्रतिशतले वृद्धि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ देखि २०७८ मङ्सिरसम्म ७९० लागुऔषध कारोबारी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरेको थियो । अघिल्लो आर्थिक वर्षमा लागुऔषध सम्बन्धीका ११८ मुद्दा दर्ता भएका थिए । तर चालू आर्थिक वर्षको यो अवधिमा लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश १४ देखि ४० वर्ष उमेरसम्मका छन् । पक्राउ पर्नेहरूमध्ये अधिकांशले आफू भरिया भएको बताउँछन् । लागुऔषध सीमा कटाएबापत रु एक हजारदेखि १० हजारसम्म ज्याला पाउने उनीहरू बताउँछन् ।

लागुऔषधको कारोबार तथा प्रयोगकर्ता घटाउन सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले काम गरिआएपनि झापामा भने खासै प्रभावकारी बन्न नसकेको सरोकारवालाले बताउँछन् । झापामा एक दर्जन बढी गैरसरकारी संस्थाले जिल्लाभरि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिआएका छन् । त्यतिकै सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताका लागि सुधार केन्द्र सञ्चालनमा छन् । सरकारी तथ्याङ्कका अनुसार अहिले देशभर लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दुई लाखभन्दा बढी रहेको छ । पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागुऔषध कारोबारमा सक्रिय रहेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति