मन्त्री बन्न नपाएकोमा विरोध गर्ने सांसद यादवलाई कारबाही

काठमाडौं, ९ मंसिर। मन्त्री बन्न नपाएको झोँकमा पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध वीरगन्जदेखि काठमाडौंसम्म विरोध प्रदर्शन गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा)को कार्यकारणी समितिको बैठकले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको छ । अध्यक्ष यादवविरुद्ध लागेपछि पार्टीले स्पष्टीकरण साधेको थियो ।

यादवले स्पष्टीकरणको जवाफ पेश गरे पनि अनुशासन समितिले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।तर, कार्यकारिणी समितिको बैठकले केन्द्रीय सदस्यबाट मात्र हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।यसअघि युरोपेली राष्ट्र लात्भियामा भएको स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएको भन्दै पार्टीले सांसद यादवलाई ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो ।सांसद यादवलाई कारबाही गरेसँगै उनका विरोधी मानिने वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

सरावगी पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका हुन् । उनीसँगै सांसद सूर्यनारायण यादव र चन्देश्वर सदासहित पाँच जनालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको बताइएको छ ।बैठकमा धेरै कार्यकारिणी सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामाको माग गरेको बताइएको छ । तर यस विषयमा कुनै निर्णय नभएको एक नेताले बताए । ती नेताका अनुसार पार्टीको निर्णय बिना प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई बर्खास्त गरेको र भ्रष्टाचारमा मुछिएका भन्दै धेरै कार्यकारिणी सदस्यले मुख्यमन्त्री राउतको राजीनामा गराउन नेतृत्वसँग माग गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति