न्युजिल्याण्ड , ८ मंसिर । आगामी जनवरीदेखि न्युजिल्याण्डले आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने भएको छ। बुधबार अन्तर्राष्ट्रिय सीमा खोल्दै मुलुकमा बसोबास गर्दै आएकालाई जनवरीबाट र पर्यटकलाई अप्रिलबाट मुलुकमा प्रवेशको अनुमति दिने घोषणा गरेको हो।
न्युजिल्याण्डले कोभिड–१९ को महामारी सुरु भएपछि निकै कडा प्रतिबन्ध लगाउँदै अन्तर्राष्ट्रिय सीमामा पर्यटकलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ भने मुलुकमा बसोबास गर्दै आएका मानिसलाई सेनाले सञ्चालन गरेको होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाइँदै आएको छ । प्रतिबन्ध लगाएपनि कोरोना संक्रमण फैलिएसँगै न्युजिल्याण्डले पछिल्लो समय कोरोना खोप अभियानलाई तीव्रता दिएको छ।
महामारीको समयमा सरकारले आफ्ना नागरिकलाई सकेसम्म सुरक्षित राख्न प्रतिबन्ध लगाएको तर लामो समयसम्म परिवारहरुलाई एकअर्कासँग छुटाएर राख्नु उचित नहुने भन्दै सरकार सीमा खोल्ने निर्णयमा पुगेको न्युजिल्याण्डका कोरोना नियन्त्रण मन्त्रीले बताएका छन् । अब नयाँ निर्णयअनुसार न्युजिल्याण्ड आउने मानिसले पनि आफ्नो घरमा नै सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने हुन्छ।
प्रतिक्रिया