प्रचण्ड–विप्लव भेटवार्ता : दुई पार्टीबीच सहकार्य गरेर जान सकिने

काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको स्रोतले बतायो ।माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ ।

यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्डको निवास खुमलटार लगेर गएका थिए ।‘छलफलमा प्रचण्ड, विप्लव र महरा कमरेड मात्र बस्नु भएको थियो, दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा सकारात्मक छलफल भइको एक स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी उहाँहरूबीच भएको छ ।’तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भए । उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।तर भूमिगतरुपमा बम विष्फोट, व्यक्ति हत्या लगायतका गतिविधि गरेपछि तत्कालीन सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।पछि सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति