काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आज (शनिबार) देशभर वडा अधिवेशन गर्दैछ । । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।
माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।
माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ ।प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।
कति पुग्यो पार्टी सदस्य संख्या ?
माओवादीको शुक्रबारसम्ममा सात लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् । शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको सदस्यता व्यवस्थापन समितिका शिव खकुरेलले जानकारी दिए । अहिलेसम्म सात लाख ३५ हजारले सदस्ता लिएको तर गैरभौगोलिकबाट आउने संख्या भने एकीन गर्न बाँकी रहेको उनले बताए । सदस्यता लिने म्याद शनिबार (आज) सम्म बाँकी रहेकोले संख्या थपिने अनुमान केन्द्रीय कार्यालयले लिएको खकुरेलको भनाई छ ।
पार्टीको गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी समितिको निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुदृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठितगर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो
प्रतिक्रिया