काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन्।शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताबाटै समस्याको समाधान गर्न आह्वान गर्दै पत्र पठाएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।बारले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ।
आन्दोलनमै रहेका न्यायाधीशहरु इजलास फर्किएकै दिन कानुन व्यवसायीलाई प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका हुन्। यसअघि विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका थिए।
तर त्यतिबेला बारले वार्तामा नजाने निर्णय गरेको थियो। पुनः बारलाई पत्र नै पठाएर आग्रह गरेपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको बस्यालले बताइन्।
नेपाल बार आन्दोलनका कार्यक्रम तय गर्न अहिले पनि छलफलमा छ। प्रधानन्यायाधीशले पठाएको पत्र बारे अध्यक्ष श्रेष्ठले बैठकमा जानकारी गराएका छन्। तर बार तत्काल वार्तामा सहभागी हुने पक्षमा नरहेको पनि बस्यालको भनाई छ। उनले भनिन्, ‘अहिले नै निर्णय त भइसकेको छैन। तर वार्तामा सहभागी हुने सम्भावना छैन। हामीले राजीनामा मागेको हो। अरु विषयमा सहमति हुने सम्भावना छैन।’
प्रतिक्रिया