हामी एमसीसीबारे डिसेम्बर १४ अघि एउटा टुङ्गोमा पुग्छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार गरेका छन् । आज शुक्रवार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि अध्यक्ष प्रचण्डसँग भेट गरेका लुले नेपालको शिक्षा, स्वास्थ्य र स्वच्छ ऊर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताए । भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लुलाई जानकारी गराएको बताए । उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दाअघिको समयसीमाभित्र निर्णयमा पुग्ने पनि बताए ।

अध्यक्ष प्रचण्डले भने , ‘राम्रो वातावरणमा सौहार्दपूर्ण र खुला छलफल भयो, म छलफलबाट पूरै सन्तुष्ट भएको छु । नेपालको समग्र विकास प्रक्रिया, नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्नेबारेमा कुराकानी भयो । उहाँले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राख्नुभयो । एग्रिकल्चर डेभलपमेन्टको बारेमा केही कुरा गर्नुभयो । मैले नेपालमा एग्रिकल्चर इन्डस्ट्रिको आवश्यक्ता छ, युवाहरूलाई रोजगारी हुन्छ, एग्रोबेस्ट इन्डस्ट्री नै राम्रो हुन्छ भने ।

एमसीसीको बारेमा मैले प्रष्टसँग भने– हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा बिलकुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा पूर्वाधारका लागि आवश्यक छ, तपाईँहरू पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही अलमल छ, पहिला ओर्जिनल डकुमेन्ट जस्तो थियो, अहिले छैन, त्यसले अलमल छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौँ, हामी डिसेम्बर १४ अघि एउटा टुङ्गोमा पुग्छौँ ।’ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डपछि सहायक विदेश मन्त्री लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गरको थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति