टोकियो, २ मंसिर । जापानले बिदेशी कामदार ल्याउने तोकुतेई गिनोउ (Specified Skilled Worker) सम्बन्धी नियम परीवर्तन गर्न लागेको छ । कामदारको अभाव पूर्तिका लागी सुरु गरेको तोकुतेई गिनोउ सम्बन्धी भीषाको म्याद ५ वर्षबाट बढाउने, उनका परीवारलाई ल्याउन पाउने, १० बर्षभन्दा बढि जापान बसेमा एइज्युकेन एप्लाइ गर्न सकिने जस्ता नयाँ व्यवस्था ल्याउन लागेको जापानको निक्केइ पत्रीकाले छापेको छ ।
५ वर्ष भित्र ३ लाख ४० हजार बिदेशी कामदार भित्राउने लक्ष्य सहित २०१९ को अप्रिलमा नेपाल सहित १५ वटा देशसंग सम्झौता गरेको थियो । सम्झौता गरेको दुई वर्ष बितीसक्दा समेत भनेजती कामदार आउन सकेका छैनन् । तोकुतेई गिनोउमा हालसम्म जापानमा २९ हजार १ सय ४४ जना रहेका छन् । यस अन्तर्गतको वर्किङ्ग भीषाप्रति विदेशी कामदारले खासै चासो नदेखाएपछि उनीहरुका लागि लागु गरिएका सिमितताहरु हटाउने गरि नया व्यवस्था गर्न लागेको बुझीएको छ ।
नयाँ व्यवस्था लागु भए जापानको श्रम बजारमा नेपालीहरुको संङख्या बढ्ने सम्भावना देखिएको छ । वर्किङमा आउन चाहानेले परीवार ल्याउन पाउने, बस्न चाहादा सम्म भीषा नविकरण हुने र एइज्युकेन एप्लाइ गर्न सकिने हुदा विदेशी संगै नेपालीहरुका लागी रोजगारीको थप अवसर सृजना भएको ह्युमन रिसोर्सेस्का सिईओ डा. भुपालमान श्रेष्ठले बताए । ।
बिगत केही वर्षदेखी तोकुतेई गिनोउको क्षेत्रमा काम गर्दै आएका डा. श्रेष्ठले जापानमा रहेका बिद्यार्थीहरुलाई पनि वर्किङमा भीषा परीवर्तन गर्न सजिलो भएको उल्लेख गरे । हाल सम्म निर्माण उद्योग र जहाज निर्माण तथा समुद्री उद्योग क्षेत्रमा आउनेहरुका लागि मात्रै लामो समय बस्न पाउने व्यवस्था थियो भने नयाँ व्यवस्था लागु भएमा केयर गिभर तथा हेरचाह क्षेत्र, भवन सरसफाई, कच्चा पदार्थ उद्योग, औद्योगिक मेसिनरी उत्पादन उद्योग, विद्युत र विद्युतीय सूचना सम्बन्धित उद्योगहरू, निर्माण उद्योग, जहाज निर्माण र समुद्री उद्योग, सवारी मर्मत उद्योग, उड्डयन उद्योग, आवास व्यवसाय, कृषि, मत्स्य पालन उद्योग, खाद्य र पेय पदार्थ उत्पादन र रेस्टुरेन्टमा आउने सबैले पाउने छन् ।
प्रतिक्रिया