काठमाडौं, १ मंसिर । इजलासमा फर्किएर नियमित मुद्दा हेरिरहेका ५ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागमा आफूहरूको पनि सहमति रहको प्रस्ट्याएका छन् ।नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको भेटमा न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा. कुमार चुडाल र मनोज कुमार शर्माले यस सबालमा बाँकी न्यायाधीशहरूसँग समेत एकमत रहेको बताए ।
भेटवार्तामा पाँचैजना न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्ने बारको मागप्रति सहमति जनाउँदै बाँकी न्यायाधीशहरूसँग पनि आफूहरूको एकमत रहेको बताउनुभयो, नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बरालले लोकान्तरसँग भनिन् ।संवैधानिक दायित्वका कारण अप्ठ्यारो महशुस गरेर आफूहरू इजलासमा फर्किएको उनीहरूको प्रस्टोक्ति थियो ।
न्यायाधीशहरूबीचको सहमति मै इजलासमा फर्किएको उनीहरूको जिकिर थियो । बाँकी १४ जना न्यायाधीशहरूको सहमतिमा नै बन्दी प्रत्यक्षीकरण तथा तामेलीमा राख्नुपर्ने मुद्दाका साथै मिलापत्र लगायतका मुद्दा मात्र हेरेका छौं ती पाँच जना न्यायाधीशको भनाई उद्धृत गर्दै बार उपाध्यक्ष बस्यालले भनिन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बेञ्च शेयर नगर्ने भन्नेमा पनि पाँचैजना एकमत रहेको उनीहरूले बताएको अर्का एक पदाधिकारीले जानकारी दिए ।
ती ५ न्यायाधीशले मंगलवार बन्दीका साथै मुद्दा फिर्ता, तामेली, निवेदन फिर्ता, मिलापत्र लगायतका मुद्दा समेत हेरेका थिए। त्यस कारण १९ जना न्यायाधीशहरूको समूहमा फाटो आएको तथा पाँचजना न्यायाधीशले जबरालाई साथ दिएको भन्ने सन्देश गएको थियो।
प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्छ, त्यसका लागि उहाँले राजीनामा नै गर्नुपर्छ भन्ने कुरामा हामी अहिले पनि कायम नै छौं भनेर श्रीमानहरूले हामीलाई आश्वस्त पार्नुभएको छ, ती पदाधिकारीले भने ।छलफलका क्रममा प्रधानन्यायाधीश जबराको राजीनामा नै बटम लाइन रहेको बारको अडानबारे बारका पदाधिकारीहरूले पाँचैजना न्यायाधीशलाई अवगत गराएका थिए।बारले राजीनामाका लागि प्रधानन्यायाधीश जबरालाई शुक्रवारसम्मको अल्टिमेटम दिएको छ ।
प्रतिक्रिया