भारतले विद्युत् किनिदिएन भने के गर्ने – प्रधानमन्त्री देउवा

काठमाडौं, ३० कातिक । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्पादित ऊर्जा देशभित्रै खपतको वातावरण बनाउन पनि आवश्यक रहेको बताएका छन् ।मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले तत्काल भारतले नेपालको विद्युत् किन्छ भन्ने ग्यारेन्टी नभएको समेत बताए ।

‘उत्पादित विद्युत भारतले किन्दिएन भने के गर्ने ? भारतले किन्छ भन्ने पनि छैन, त्यसैले देशभित्रको बिजुली देशभित्रै खपत गर्नुपर्छ,’ देउवाले भने,‘भारतले पनि आफैं उत्पादन बढाउँदैछ ।’यद्यपि भारतीय ठूला उद्योगहरु खनिज इन्धनमा निर्भर रहेकाले नेपालको बिजुलीले बजार पाउने सम्भावना पनि उत्तिकै रहेको देउवाले औल्याए ।

कोलमा निर्भर रहेका भारतीय कम्पनीले नेपालको बिजुली किन्न सक्ने प्रधानमन्त्रीको भनाइ थियो ।जलवायु परिवर्तनको असर रोक्न पनि जलविद्युतमार्फत स्वच्छ ऊर्जा उत्पादन र आन्तरिक खपत वृद्धिका लगानी बढाउनुपर्ने दिनुपर्ने प्रधननमन्त्री देउवाको भनाइ थियो । त्यसका लागि जलविद्युतका लगानीकर्तालाई सरकारले थप सहुलियत दिन तयार रहेको देउवाले बताए ।‘अब ग्यास चुल्होको सट्टामा विद्युतीय चुल्हो हुनसक्छ, ब्याट्रीबाट चल्ने गाडीहरु प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘बिस्तारै बिस्तारै त्यता नै जाने हो, त्यसलाई सहज वातावरण बनाउन सरकार तयार छ ।’

उनले पेट्रोलियमबाट चल्ने सवारीका कारण काठमाडौंमा धुँवा नै धुवाँ भएको भन्दै उनले विद्युतीय बस र गाडीहरु चलाउन लाग्नुपर्ने बताए । तराईमा पनि यस्तो अभियान चलाउनुपर्ने देउबाको भनाइ छ ।सरकारले सन् २०४५ सम्म कार्वन शून्य उत्सर्जनको नीति लिएको भन्दै उनले त्यसका लागि स्वच्छ जलविद्युत प्रमुख हतियार बन्ने बताए ।‘ठूला देशहरुले खनिज इन्धनको उच्च खपत गरिरहेका छन्, यसका कारण जलवायु परिवर्तन भएर हाम्रो हिमालहरु नांगो हुन बेर छैन, त्यसैले हामी हाइड्रोमै जानुपर्छ,’ उनल भने,‘हामीले शुरुआत गर्न सक्छौं, नेपाल नमूना पनि बन्नसक्छ ।’प्रधानमन्त्री देउबाले जलविद्युतको लाइसेन्स मात्रै लिने र काम नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति